आज दिउँसो उद्योग परिसरमा पुग्दा देखिएको दृश्य । (तस्बीर : उज्यालो अभियान)
धनकौल, ०८ माघ – सर्लाहीको पश्चिम धनकौलस्थित धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण चिनी मिलमा आज बिहान मेसिनमा परेर एक मजदुरको ज्यान गएको छ ।
सोही मिलमा कार्यरत धनकौल गाउँपालिका–४, महिनाथपुरका १९ वर्षीय चुनचुन रायको उखुको रस निकाल्ने मेसिनमा परेर मृत्यु भएको हो । चुनचुन आफ्ना काकासँग उद्योगमा काम सिक्न भनी आएकाबेला घटना भएको उद्योग सञ्चालक शैलेन्द्र गुप्ताले उज्यालो अभियानसँग बताए ।
मेसिनमा पर्दा चुनचुनको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय हरकठवाले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
कामदारको मृत्यु भएपछि आज बिहानदेखि बन्द अन्नपूर्ण चिनी उद्योगले उखु क्रसिङ कार्य अहिले साँझसम्म पनि बन्द रहेको छ । उद्योगपति गुप्ताले तत्काल क्रसिङ सुरु गार्ने तयारी रहेको बताए ।
अहिले उखु काटेर धमाधम क्रसिङ गर्ने समय रहेकाले उद्योग परिसर उखु बोकेर आएका टायरगाढा, ट्याक्टर र ट्रकले भरिएका छन् ।