लालबन्दी, ०७ माघ – सर्लाहीमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका १३३ जना मध्ये महिला छ जना मात्रै भएका छन् ।
छ जनामध्ये तीन जनाले राजनीतिक दलबाट र तीन जनाले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । क्षेत्र नं. १ मा उम्मेदवारी दर्ता गराएका २९ जनामध्ये राष्ट्रिय स्वतन्त्र पार्टीबाट नितिमा भण्डारी कार्की एक जना मात्रै महिला उम्मेदवार छिन् ।
क्षेत्र नं. २ मा ३१ जना उम्मेदवारमध्ये एक जना महिला उम्मेदवारको रुपमा कन्चन चौधरीले मात्र स्वतन्त्र उम्मेदवारी दिएकी छन् । क्षेत्र नं. ३ मा ३४ जना उम्मेदवारमध्ये महिलातर्फ नेपाल मजदुर किसान पार्टीकी रमा कोइराला र स्वतन्त्रबाट लक्ष्मीकुमारी अधिकारीले उम्मेदवारी दिएका निर्वाचन अधिकृतको कार्यालयले जनायो ।
जिल्लामा सबैभन्दा बढी उम्मेदवारी परेको क्षेत्र नं. ४ मा ३९ जना उम्मेदवारमध्ये दुई जना महिला रहेका छन् । क्षेत्र नं. ४ मा आम जनता पार्टीबाट रिङकीकुमारी साह र स्वतन्त्रबाट मधुमालाकुमारी यादवले उम्मेदवारी दिएकी छन् ।
स्वतन्त्र उम्मेदवारी दिएकी मालाकुमारी २०७९ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी थिईन् । यो पटक उनकै भाई अमनिसकुमार यादवले नेकपा एमालेबाट उम्मेदवारी दिएका छन् ।
जिल्लाका महिला अधिकारकर्मीले राजनीतिक दलहरुबाट महिला उम्मेदवार प्राथमिकतामा नपर्नु र स्वतन्त्रबाट उम्मेदवारी दर्ता गर्नेमध्ये पनि अधिकांश डमी उम्मेदवार रहेको भन्दै उम्मेदवार चयन समावेशी नभएको गुनासो गरेका छन् ।
यस्तै हिजो उम्मेदवारी दर्ता गराएपछि अधिकांश दलहरुले आज प्रत्येक क्षेत्रमा भेला तथा बैठक गरेर अब कसरी घरदैलो तथा प्रचारप्रसार सुरु गर्ने भनी छलफल गरेका छन् ।
राजनीतिक दलहरुले उम्मेदवारसहित छलफल राखेर प्रचारप्रसार तथा घरदैलोलाई तीव्र रुपमा अघि बढाउने निर्णय गरेका हुन् ।