हरिवन, ०६ माघ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सर्लाहीको क्षेत्र नं. ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
श्रेष्ठले आज दिउँसो सर्लाहीको हरिवनस्थित क्षेत्र नं. ३ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । श्रेष्ठसहित सर्लाही क्षेत्र नं. ३ बाट नेकपा एमालेको तर्फबाट निवर्तमान प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेती, उप्रेतीसँग यसअघि झिनो मतान्तरले पराजित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र साहलगायतले उम्मेदवारी दर्ता गराइसकेका छन् ।
यस्तै सर्लाहीको क्षेत्र नं. २ बाट राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले उम्मेदवारी दर्ता गराइसकेका छन् । यस क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार महिन्द्रराय यादवले पनि उम्मेदवारी दर्ता गराउँदै गराउँदै छ ।
यसैगरी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको सर्लाही क्षेत्र नं. ४ बाट उम्मेदवारी पर्दै छ । थापा आफै सरिक हुन नभ्याउने भएपछि नेपाली कांग्रेस मधेश प्रदेश सभाका सदस्य वीरेन्द्रप्रसाद सिंहले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराइदिँदै छन् ।
सर्लाहीमा चारवटै निर्वाचन क्षेत्रमा अहिले शान्तिपूर्ण रुपमा धमाधम उम्मेदवारी दर्ता भइरहेको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिए । फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्गलबार बिहान १० बजेदेखि सुरु भएको मनोनयन दर्ताको समय साँझ ५ बजेसम्मका लागि छुट्याएको छ ।
मुख्य निर्वाचन अधिकृत थपलियाले साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा आइपुग्ने उम्मेदवारले मनोनयन दर्ता गर्न पाउने बताए ।