लालबन्दी, ०६ माघ – सर्लाहीको बागमती नगरपालिकाका नगरप्रमुख (निलम्बित) भरतकुमार थापाले सर्लाही क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेतासमेत रहेका थापाले क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृतको कार्यालयले पुष्टी गरेको हो । थापा क्षेत्र नं. ३ मा पर्ने बागमतीका स्थानीय वासिन्दा हुन् ।
क्षेत्र नं. १ बाट नेकपाले प्रमोदकुमार साहलाई टिकट दिएको छ । साहले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बनमा परेका मेयर थापा पनि नेकपाबाट क्षेत्र नं. १ मा टिकटका आकांक्षी थिए । क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार निलम्बित मेयर थापाको उम्मेदवारी निकै ढिलो गरी अहिले राति ९ बजेतिर मात्रै निर्वाचन आयोगको अनलाइन सिस्टममा दर्ता भएको छ ।
क्षेत्र नं. १ का निर्वाचन अधिकृत टीकाबहादुर थापाले स्वतन्त्रबाट उम्मेदवार दिएका भरतकुमार थापाको हकमा निर्वाचन आयोगको सिस्टममा ‘स्थानीय तहमा निर्वाचित’ भनेर देखाएकाले दर्ता हुन समय लागेपछि निर्वाचन आयोगसँग नै समन्वय गर्नुपरेको बताए । “उहाँको मतदाता परिचय पत्र अनलाइनमा चढाउँदा ‘अलरेडी इलेक्टेड’ भनेर देखाएकाले दर्ता गर्न धेरै बेर लाग्यो, सायद स्थानीय तहको नतिजासँग लिंक भएर होला अनलाइन दर्ता गर्दा आयोगको साइटमा त्यस्तो देखाएको,” निर्वाचन अधिकृत थापाले राति ९ः१५ बजेतिर उज्यालो अभियानसँग भने,“आयोगसँग समन्वय गरेपछि अहिले भर्खरै उहाँको पनि उम्मेदवारी दर्ता भएको छ ।”
निर्वाचन अधिकृत थापाका अनुसार क्षेत्र नं. १ बाट स्वतन्त्र १० जनासहित २९ जनाको उम्मेदवारी परेको छ ।