logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

नेकपा छाडेका रामेश्वर भन्छन-उपेन्द्र जिसँग सम्वादमा छु


  • उज्यालो अभियान

हरिवन, ०४ माघ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वमन्त्री रामेश्वर राय यादवले पार्टी परित्याग गरेका छन् ।

रायले अहिले राति उज्यालो अभियानसँग कुरा गर्दै आफूले पार्टी छाडेको पुष्टी गरेका हुन् । उनले आफू आजै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेट्न पुगेको खुलाए ।

आफूलाई जसपा अध्यक्षसहितका नेताहरुले अत्यन्त खुसी भएर पार्टी कार्यालयमा भव्य स्वागत गरेको रायले बताए । “प्रचण्डको व्यवहार ठीक नलागेपछि मैले नेकपा छाडेकै हो,” उनले भने , “आज उपेन्द्र जि लाई भेट्न गए, कति राम्रोसँग खुसी भएर स्वागत गर्नुभयो । पार्टीभित्र सम्मान भनेको त त्यस्तो पो हुनुपर्छ ।”

नेकपाले आफ्‌नो निर्वाचन क्षेत्र सर्लाही ३ बाट नारायणकाजी श्रेष्ठलाई टिकट दिएपछि टिकटका प्रमुख दाबेदार रायले पार्टी छाडेका हुन् । रायले आफू आज जसपा नेपालका अध्यक्षलाई भेट्न गए पनि जसपा नेपालमा प्रवेश नै भने गरिनसकेको बताए ।

उनले भने, “भोली एक पटक फेरि बसेर छलफल गर्ने सहमती भएको छ । म पनि आफ्‌ना साथी भाईहरुसँग कसरी चुनाव लड्ने भनेर आन्तरिक परामर्शमै छु ।”

पार्टीले नारायणकाजीलाई टिकट दिएको विषयमा रायले कार्यकर्ताको भावना बुझ्‌दै नबुझी जवरजस्ती केन्द्रीय कमिटीले निर्णय लाद्ने काम गरेको आरोप लगाए । नेकपाभित्र आफूलाई ‘कन्फरटेबल फिल’ नभएपछि पार्टी छाड्न बाध्य भएको उनको गुनासो छ ।

स्थानीय स्तरमा आफूहरुले दुःख गरेर संगठन बनाउने तर चुनाव लड्ने बेला अरु नै नेताहरु आएर लड्ने कुरा आफूलाई अनुचित लागेको रायको भनाइ छ । रायले आफू जसपा नेपालमै प्रवेश नगरे पनि चुनाव भने पक्का लड्ने बताए ।

क्षेत्र नं. ३ मा नेकपाबाट नारायणकाजी श्रेष्ठ र नेकपा एमालेबाट निवर्तमान सांसद हरिप्रसाद उप्रेतीले टिकट पाइसकेका छन् । २०७९ मा एमालेका उप्रेतीले चुनाव जित्दा यस क्षेत्रबाट २०७४ मा भने अहिले नेकपा छाडेका रायले नै बाजी मारेका थिए ।

रायले तत्कालिन माओवादी केन्द्रबाट चुनाव जितेर एक पटक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने अवसरसमेत पाएका थिए । राय २०७४ मा बिजयकुमार गच्छदार नेतृत्वको पार्टी छाडेर माओवादीमा प्रवेश गरेका थिए ।

सर्लाहीमा अहिले विभिन्न पार्टीहरुमा चुनाव लड्न टिकट नपाए पार्टी परित्याग गरी अर्को पार्टीबाट चुनाव लड्ने केही नेताहरुको तयारी छ ।