logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

चुनाव लड्न सर्लाही आउने भए नारायणकाजी, क्षेत्र नं. ३ बाट टिकट पाए


  • उज्यालो अभियान

हरिवन, ०३ माघ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीको क्षेत्र नं. ३ बाट प्रतिस्पर्धामा उत्रने भएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीले सर्लाही क्षेत्र नं. ३ बाट श्रेष्ठलाई टिकट प्रदान गरेको पार्टीका नेता एवं हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल) ले अहिले राति उज्यालो अभियानसँग पुष्टी गरेका हुन् । नेकपाको केही साताअघि सम्पन्न भेलाले पनि श्रेष्ठको नाम यस क्षेत्रबाट सिफारिस गरेको थियो ।

२०७९ मा यस क्षेत्रबाट नेकपा एमालेका हरिप्रसाद उप्रेती तत्कालिन माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साहलाई झिनो मतान्तरले पराजित गर्दै सांसदमा निर्वाचित भएका थिए । नेकपा एमालेबाट यो पटक पुनः निवर्तमान सांसद उप्रेतीको एकल नाम सिफारिस भएको छ ।

नेकपाका शीर्ष नेता श्रेष्ठ सर्लाहीको क्षेत्र नं. ३ मा चुनाव लड्न आउने भएपछि यहाँको चुनावी नतिजालाई लिएर सर्वत्र चासो हुन थालेको छ । यस क्षेत्रमा मुख्यगरी नेकपा एमाले र नेकपाबिच नै प्रतिस्पर्धा हुने स्थानीय बताउँछन् ।

यस्तै नेकपाले सर्लाहीको क्षेत्र नं. २ बाट पूर्वमन्त्री एवं निवर्तमान सांसद महिन्द्रराय यादवलाई टिकट दिएको छ । यो क्षेत्रमा फेरि एक पटक राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री राजेन्द्र महतोसँग यादवको प्रतिस्पर्धा हुने भएको छ ।

नेकपालाई सर्लाही क्षेत्र नं. १ मा भने उम्मेदवार टुङ्गो लगाउन सकस परेको छ । क्षेत्र नं. १ बाट प्रमोदकुमार साह, सुरेश काफ्ले, बेची लुङ्गेलीलगायतको नाम चर्चामा छ । टिकटका प्रमुख दाबेदार प्रमोद साह केही समयअघि मात्र तत्कालिन माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।