साबिक जिविस भवनमा खोलिएको मुख्य निर्वाचन अधिकृत एवं क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालय ।
लालबन्दी, ०२ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा आज एकैसाथ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
क्षेत्र नं. १ को लालबन्दी नगरपालिका १० नं. वडा कार्यालय चन्द्रपुर, क्षेत्र नं. २ को साबिक जिविस भवन मलंगवा, क्षेत्र नं. ३ को मालपोत कार्यालय हरिवन र क्षेत्र नं. ४ को वेणी भोला नमूना माध्यमिक विद्यालय गोडैता बजारमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मलंगवास्थित साबिक जिविस भवनमा रहेको क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहने छ ।
सर्लाहीमा क्षेत्र नं. १ बाहेक अन्य तीनवटा निर्वाचन क्षेत्रमा अघिल्लो पटकको निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालय रहेकै ठाउँमा पुनः अहिले कार्यालय स्थापना गरिएको हो । क्षेत्र नं. १ मा यसअघिको निर्वाचनमा पूर्वपश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका ६ मा रहेको पुरानो नगरपालिका भवनमा निर्वाचन अधिकृतको कार्यालय रहेको थियो ।
यो भवनमा भदौ २४ गते जेनजी आन्दोलन हुँदा आगजनी र तोडफोडबाट क्षति पुगेको तथा जलेकै भवनमा वडा नं. ६ र ७ को वडा कार्यालय, भूमि आयोग र न्यायीक समितिको कार्यालय संचालनमा रहेका छन् । जस्ले गर्दा निर्वाचन अधिकृतको कार्यालय संचालन गर्न भवन उपयुक्त नरहेपछि राजमार्ग छेउमै रहेको साझा संस्थाको प्राङ्गणमा नवनिर्मित व्यावसायिक भवनलाई निर्वाचन अधिकृतको कार्यालयको रुपमा प्रयोग गर्ने प्रयास गरियो । तर यो भवनमा बिजुली बत्तीधरी जोड्न बाँकी रहेकाले पूर्वपश्चिम राजमार्गदेखि करिव एक मिलोमिटर उत्तरमा पर्ने वडा नं. १० चन्द्रपुरको वडा कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले बताए ।

लालबन्दी १० नं. वडा कार्यालयमा स्थापना गरिएको क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालय ।
चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै फागुन २१ को निर्वाचनको तयारीले थप तीव्रता पाउने भएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यक्रम अन्तर्गत माघ ६ गते देशभर एकैसाथ उम्मेदवारी दर्ता गरिँदै छ ।
निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्तासहित अन्य तयारीका काम धमाधम अघि बढाइएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी पौडेलले जानकारी दिए । पौडेलका अनुसार आज स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयहरुमा तत्काल टेबुल, कुर्सी, इन्टरनेट, बिजुलीलगायतको व्यवस्थापनका काम अघि बढाइने छ ।

वेणी भोला मावि गोडैतामा स्थापना गरिएको क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालय ।
फागुन २१ को निर्वाचनका लागि सर्लाहीमा जिल्ला अदालतका मुख्य न्यायाधीश पुष्पराज थपलिया मुख्य निर्वाचन अधिकृत तोकिएका छन् । उनले नै क्षेत्र नं. २ को निर्वाचन अधिकृतको भूमिकासमेत निर्वाह गर्ने छन् ।
त्यसैगरी क्षेत्र नं. १ मा सर्वोच्च अदालतका इजलास अधिकृत टीकाबहादुर थापा, क्षेत्र नं. ३ मा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका उपसचिव नवराज आचार्य र क्षेत्र नं. ४ मा सर्वोच्च अदालतका इजलास अधिकृत विनोदप्रसाद घिमिरे निर्वाचन अधिकृत तोकिएका छन् । उनीहरु सबै जना जिल्लामा आएर कार्यालय व्यवस्थापनसहित सुरक्षा निकाय र अन्य सरोकारवालासँग समन्वय गर्ने काममा सरिक भइसकेका जिल्ला निर्वाचन अधिकारी पौडेलले उज्यालो अभियानसँग बताए ।

मालपोत कार्यालय हरिवनमा खोलिएको क्षेत्र नं. ३ को निर्वाचन अधिकृतको कार्यालय ।
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउने तथा तयारीका काम तीव्रताका साथ अघि बढाउन हिजो र आज दुई दिन लगातार प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, मुख्य निर्वाचन अधिकृत थपलिया, तीनवटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत, सुरक्षा निकायका प्रमुख, जिल्ला निर्वाचन कार्यालयका अधिकारीलगायतबिच बैठकसमेत सम्पन्न भएको छ ।