फाइल तस्बीर ।
लालबन्दी, ०१ माघ – ११ औँ राष्ट्रिय योग दिवस आज सर्लाहीमा पनि मनाइएको छ ।
दिवसको अवसरमा आज बिहान पतन्जली योग समिति लालबन्दीले वडा नं. ९ बस्तीपुरस्थित आइडिएल को–एड एकेडेमीमा योग अभ्याससहितको कार्यक्रम सम्पन्न गरेको हो । पतन्जली योग समिति लालबन्दीका उपाध्यक्ष उद्धवप्रसाद पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, पर्सा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनबहादुर थिङ, उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष महेशकुमार महतो, लालबन्दी ७ का वडाध्यक्ष कृष्णकुमार कार्की, वडा सदस्य सुरज थापा, लालबन्दी ९ का वडा सदस्य विनोद तिमल्सिनालगायतको आतिथ्यता रहेको थियो ।
स्वास्थ्य, शान्ति र समृद्धिका लागि पतन्जली योग समितिले नियमित योग अभ्यासको कार्यक्रम गर्दै आइरहेको कोषाध्यक्ष टीकाराम श्रेष्ठले जानकारी दिए ।
यस्तै, राष्ट्रिय योग दिवस आज बागमती नगरपालिका–६ स्थित सीतापुर प्राथमिक विद्यालय राजघाट परिसरमा पनि मनाइएको छ । नियमित योग अभ्यास गर्ने स्थानीयहरुले सर्लाही क्षेत्र नं. ३ का निवर्तमान प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा राष्ट्रिय योग दिवस मनाएका हुन् ।