लालबन्दी, २७ पुस – लालबन्दी नगरपालिका मातहत रहेको नगर अस्पताल लालबन्दीले आज दोस्रो वार्षिकोत्सव मनाएको छ ।
लालबन्दी नगरपालिका ९ डुमडुमेस्थित नगर अस्पताल परिसरमा नगर उपप्रमुख कल्पनामाया पाख्रिनको प्रमुख आतिथ्यतामा अस्पतालले दोस्रो वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा नेपाली सेनाको कालिध्वज गण पाँचकुमारी ब्यारेकका गणपति उमेश खड्का, लालबन्दी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी शिवाकोटी, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
वार्षिकोत्सव समारोहमा अस्पतालले एक वर्षभित्र प्रदान गरेको सेवा सुविधा, सेवा लिने सेवाग्राहीको संख्यालगायत विवरण सार्वजनिक गरिएको छ । अस्पतालले निकट भविष्यमै पोस्टमार्टम, ओसिएमसी, सरसफाई व्यवस्थापन, कल्चर एण्ड सेन्सीटी भीटीलगायतका सेवा सुरु गर्ने योजना बनाएको अस्पतालका सूचना अधिकारी हिमान्सु कर्णले जानकारी दिए ।
नगर अस्पतालमा अहिले प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. रामविश्वास राय, मानसिक रोग विशेषज्ञ डा. चन्दन चौधरीलगायत विशेषज्ञ चिकित्सक र अन्य चिकित्सक र स्वास्थ्यकर्मीले सेवा प्रदान गरिरहेका छन् । विशेषज्ञ चिकित्सक बसेर सेवा दिन थालेसँगै नगर अस्पताल लालबन्दीमा बिरामीको चाप बढ्दो छ ।
यस अस्पतालले सर्लाहीकै एक मात्र बीमातर्फका बिरामीलाई सेवा दिने अस्पतालको रुपमा पनि काम गर्दै आइरहेको छ ।