logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

परियोजनाका कर्मचारीले दिए महतोको परिवारलाई एक दिनको तलब


  • उज्यालो अभियान

सागरनाथ वन विकास परियोजनाले आयोजना गरेको श्रद्धान्जली सभा तथा सहयोग हस्तान्तरण कार्यक्रम । (तस्बीर : प्रकाश मैनाली/उज्यालो अभियान)

सागरनाथ, २६ पुस – एक साताअघि बीभत्स हत्या भएको वनरक्षक रामईश्वर महतो कोइरीको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

वन पैदावार विकास समिति मातहत रहेको सागरनाथ वन विकास परियोजना सर्लाही र रतुवामाई वृक्षरोपण आयोजना झापामा कार्यरत सम्पूर्ण कर्मचारीले एक दिनको तलबबापतको एक लाख ४४ हजार ९३२ रुपियाँ मृतक वनरक्षक महतोको परिवारलाई प्रदान गरेका हुन् । उक्त रकम आज परियोजनाको कार्यालयमै श्रद्धान्जली सभाको आयोजना गरी परिवारलाई हस्तान्तरण गरिएको हो ।

यस्तै परियोजनाकै पहलमा विभिन्न व्यक्तिहरुले मृतकको परिवारका लागि थप ४ लाख रुपियाँ बैंकमा जम्मा गरिदिएका सागरनाथ वन विकास परियोजनाका निमित्त परियोजना प्रमुख खेमलाल विश्वकर्माले जानकारी दिए । मृतक रामईश्वरको काजक्रियाका लागि वन पैदावार समितिबाट २५ हजार र सामाजिक सुरक्षा कोषबाट थप २५ हजार रुपियाँ पनि उपलब्ध गराइएको छ ।

ईश्वरपुर नगरपालिका २ भक्तिपुर राईटरखोर निवासी ५२ वर्षीय वनरक्षक महतोको साइकल चढेर वन गस्तीमा निस्किएका बेला यही पुस १९ गते घर नजिकै सागरनाथ विकास विकास परियोजना भक्तिपुरको प्लट नं. १० मा टाउको नै छिनाएर बीभत्स किसिमले हत्या भएको थियो । उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी ३५ वर्षीय रामबली महतोलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा रामबलीले तस्करी गरेर ल्याएको काठ बरामद गरेपछि वनरक्षक रामईश्वरको हत्या गरेको खुलेको छ ।

वनको संरक्षण गर्न र तस्करी रोक्न क्रियाशील वनरक्षक रामईश्वरको तस्करबाट हत्या भएपछि सागरनाथ वन विकास परियोजनाले अब वन गस्ती गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समेत समन्वय गर्न थालेको निमित्त परियोजना प्रमुख विश्वकर्माले बताए ।

सागरनाथ वन विकास परियोजनाले मृतक महतोलाई वन संरक्षक सहीद घोषणा गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ ।