वुद्धबहादुर विश्वकर्मा/हरिपुर, २५ पुस – सर्लाहीको लालबन्दी र हरिपुर नगरपालिकामा आज नगर सभाको हिउँदे अधिवेशन सम्पन्न भएको छ ।
लालबन्दीमा नगर सभाको १५ औँ अधिवेशन र हरिपुरमा नगर सभाको १६ औँ अधिवेशन सम्पन्न भएको हो । नियमित गाउँ तथा नगर सभाले पारित गरेको नीति तथा कार्यक्रम र बजेट विशेष नगरसभा अर्थात् हिउँदे अधिवेशनबाट संशोधन गर्न पाउने कानूनी व्यवस्था छ ।
हिउँदे नगर सभाले नगर कानून पनि पारित गर्न सक्ने व्यवस्था छ । लालबन्दी र हरिपुर दुवै ठाउँको नगर सभाले प्रत्येक वडाबाट केही योजनाका बजेट थपघट गर्ने प्रस्ताव आएका र ति प्रस्तावहरु पारित गरेको छ ।
लालबन्दीमा नगर प्रमुख वासुदेव अधिकारी र हरिपुरमा नगर प्रमुख गोपाल पजियारको अध्यक्षतामा नगर सभाको हिउँदे अधिवेशनको समापन गरिएको हो ।

अन्य पालिकाहरुले धमाधम हिउँदे अधिवेशन गरेर गएको असारमा ल्याएको बजेट आवश्यकता अनुसार संशोधन गरिरहे पनि जिल्लाको बसबरिया गाउँपालिकाले भने चालु आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट अहिलेसम्म पारित गर्न सकेको छैन् ।
बजेट बाँडफाँडमा सहमति जुट्न नसक्दा गाउँ सभाको बन्दसत्र गर्न निरन्तर सम्वाद भए पनि निष्कर्ष निस्कन सकेको छैन् ।