logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

विशेष महाधिवेशनलाई लिएर सर्लाही कांग्रेस विभाजित, सिंह समूह थापाको पक्षमा


  • उज्यालो अभियान

मलंगवा, २५ पुस – पुस २७ र २८ गतेका लागि बोलाइएको विशेष महाधिवेशनलाई लिएर सर्लाही कांग्रेसमा विभाजन देखिएको छ ।

जिल्लामा पूर्व जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह नेतृत्वको समूह विशेष महाधिवेशनको पक्षमा खुलेरै लागेको छ । पार्टीको संस्थापन पक्षधर रहेका पूर्व जिल्ला सभापति सिंह, उनका भाइ तथा कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंहलगायतका नेताहरु पछिल्लो केही समयदेखि महामन्त्री गगनकुमार थापाको पक्षमा खुलेरै लाग्न थालेका थिए ।

सिंह समूहका मानिने कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले आफूहरु विशेष महाधिवेशनका लागि काठमाडौं जाने तयारीमा जुटेको बताए । कार्कीले विशेष महाधिवेशनका लागि जिल्लामा आफूहरुले दुई महिनाअघि ७० जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सङ्कलन गरिएको दावी गरेका छन् ।

अहिले केही व्यक्ति घटे पनि सर्लाहीमा विशेष महाधिवेशन पक्षधर नै बलियो रहेको कार्कीको दावी छ । सर्लाहीमा १४ औँ महाधिवेशनमा कांग्रेसका जिल्ला सभापति, चार जना क्षेत्रीय सभापतिसहित १०४ जना महाधिवेशन प्रतिनिधि रहेका थिए । १०४ मध्ये १४ औँ महाधिवेशनबाट निर्वाचित जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहले राजिनामा दिएका छन् भने केही महाधिवेशन प्रतिनिधिको निधन र केहीले पार्टी छाडेका छन् ।

संस्थापन पक्षका रहेका कार्यवाहक जिल्ला सभापति डा. सरोज कुमारले आफू र आफ्नो पक्ष विशेष महाधिवेशनको विपक्षमा रहेको बताए । उनले आज प्रेस विज्ञप्ती जारी गर्दै कांग्रेसको विधान अनुसार केन्द्रको महाधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय समितिलाई मात्रै रहेकाले विधान विपरीत पदाधिकारी वा सदस्यले बोलाएको विशेष महाधिवेशनमा सहभागी नुहन अपिल गरेका छन् ।

कांग्रेस सर्लाहीको संस्थापन इतर (शेखर कोइराला) समूहले पनि विशेष महाधिवेशनमा सहभागी नहुने जनाएको छ । संस्थापन इतरका नेता एवं पूर्व जिल्ला सभापति लक्ष्मण रायले विधान विपरीतको महाधिवेशनमा सहभागी नहुने बताए ।

विशेष महाधिवेशनमा सहभागी हुने/नहुने विषयमा नेपाली कांग्रेस सर्लाहीका नेता, कार्यकर्ता फेसबुकलगायत अन्य सामाजिक सन्जालमा एकअर्काविरुद्ध आरोपप्रत्यारोपमा समेत उत्रिएका छन् ।

कतिपय महाधिवेशन प्रतिनिधि भने विशेष महाधिवेशनमा सहभागी हुने/नहुने अन्यौलमा देखिन्छन् ।