logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

नवलपुर चोकमा चक्काजाम, मृतकका परिवारसँग छलफल गर्दै प्रहरी


  • उज्यालो अभियान

तस्बिर : सुदर्शन रिजाल

नवलपुर, २५ पुस – पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुर चोकमा स्थानीयले १ः३० बजेदेखि चक्काजाम गरिरहेका छन् ।

दुई साताअघि नवलपुर–मलङ्गवा सडक अन्तर्गत लालबन्दी नगरपालिका–२ मा रहेको लर्ड ब्राइड वीजडम एकेडेमी नजिक ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि मृतकको परिवारले कुनै राहत नपाएको भन्दै स्थानीयले हाइवेमा चक्काजाम गरेका हुन् । पुस ११ गते सदरमुकाम मलङ्गवातर्फ जाँदै गरेको ना ७ ख ७३६९ नम्वरको ट्रकले ठक्कर दिँदा साइकलमा रहेका लालबन्दी २ का ६० वर्षीय मेन्दु दोर्जे लोप्चनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटना भएको यत्तिका दिनसम्म ट्रकधनी मृतकको परिवारसँग सम्पर्कमै नआएको र राहत रकम पनि नपाएको भन्दै स्थानीयले पूर्वपश्चिम राजमार्गमा आएर टायर बालेर चक्काजाम गरेका हुन् । चक्काजामका कारण पूर्वपश्चिम राजमार्ग र नवलपुर–मलङ्गवा सडकमा सवारी आवागमन ठप्प भएको छ ।

नवलपुर चोकमा अहिले ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ भएका छन् । इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले आन्दोलित पक्षसँग छलफल भइरहेको बताए ।

इन्स्पेक्टर जोहारीका अनुसार दुर्घटनापछि ट्रक र चालक प्रहरीको नियन्त्रणमै रहेका छन् ।

मृतकको परिवारले कानून बमोजिम प्राप्त गर्ने रकमका लागि ट्रकधनीसँग समन्वय गरिरहेको लालबन्दी प्रहरीले जनाएको छ ।