लालबन्दी, २४ पुस – सर्लाहीमा आज शीतलहर नचले पनि कठ्यांग्रिदो चिसो भने यथावत् रहेको छ ।
यहाँ आज अघिल्ला दिनहरुको तुलनामा हुस्सु पनि कम लागेको छ । तर ठिर्याउँदो चिसो भने निरन्तर भइरहेको हो । उत्तरी चुरेभेगका कतिपय स्थानमा मधुरो घाम देखा पर्न थालेको स्थानीयले बताएका छन् ।
अघिल्ला दिनहरुको तुलनामा आज हुस्सु, कुहिरो र शीतलहर नरहेकाले स्थानीय वासिन्दा घाम लाग्ने आशमा बसेका छन् । बढ्दो चिसो थेग्न स–साना बालबालिका र थलिएका वृद्धवृद्धालाई गाह्रो परेको छ ।
कतिपय ज्येष्ठ नागरिकको यो समयमा अत्यधिक जाडो सहन नसकेर ज्यान गइरहेको छ । धेरै मानिस बिरामी पर्न थालेका छन् ।
सर्लाहीसहित मधेश प्रदेशमा यो वर्ष पुस लागेदेखि कहिलेकाँही घाम लागे पनि त्यसपछि रातदिन शीतलहर चल्ने, बाक्लो हुस्सु लाग्ने, स्याँठ चल्ने हुँदा मानिससँगै वस्तुभाउ, पन्छी र बालीनाली निकै प्रभावित बनेका छन् ।