मृतक रामइश्वर महतोको घर अगाडि भेला भएका स्थानीय । (तस्बीर : उज्यालो अभियान)
बयलवास, २४ पुस – सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राइटरखोरका वनरक्षक (चौकीदार) रामईश्वर महतोको हत्या आशंकामा पक्राउ परेका रामबली महतोलाई प्रहरीले आज औपचारिक रुपमा सार्वजनिक गरेको छ ।
सागरनाथ वन विकास परियोजनामा कार्यरत ५२ वर्षीय रामईश्वरको पुस १९ गते घर नजिकै परियोजनाको पलौट क्षेत्रमा टाउको नै छिनाएर बीभत्स हत्या भएको थियो । प्रहरीले रामईश्वरको हत्यामा संलग्न रहेको भन्दै छिमेकी ३५ वर्षीय रामबली महतोलाई सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले आज जिल्लाका पत्रकारहरुलाई घटनामा अहिलेसम्म अनुसन्धान गर्दा प्राप्त गरेको उपलब्धी सार्वजनिक गर्दै रामबलीलाई घटना भएकै दिनदेखि पक्राउ गरिएको औपचारिक जानकारी गराएको हो । रामबलीले पटकपटक सागरनाथ वन विकास परियोजनको जङ्गल क्षेत्रबाट टिक र मसलाको रुख कटान गर्दा वनरक्षक रामईश्वरसँग विवाद भएको र त्यसरी काठ नकाट्न सम्झाइबुझाइसमेत गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।
घटना हुनुभन्दा चार÷पाँच दिनअघि पनि रामबलीले जङ्गलबाट टिकको रुख काटेर घरमा ल्याइ दाउरा चिरेर बेच्न राखेको र वनरक्षक रामइश्वरले उक्त दाउरा उठाएर लगेका थिए । त्यसबेला नै रामबलीले रामइश्वरलाई मार्ने धम्की दिएका थिए ।
अहिलेसम्मको अनुसन्धानमा रामबली जङ्गलमा काठ काट्न जाँदा वनरक्षक रामईश्वरले पक्राउ गर्न खोज्ने गरेको र त्यसक्रममा दुई जनाबिच लछारपछारसमेत भएको पाइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी सरोज राईले उज्यालो अभियानसँग बताए ।
रामबलीलाई ज्यान सम्वन्धी कसूरमा सर्लाही जिल्ला अदालतबाट म्याद लिएर इलाका प्रहरी कार्यालय केशरगन्जको हिरासतमा राखी थप अनुसन्धान भइरहेको डिएसपी राईले बताए । प्रहरीले रामबलीको घरबाट रगत लागेको कपडा, घटनास्थलबाट रगत लतपतिएको बञ्चरो र रामबलीले लगाउने चप्पल बरामद गरेको छ ।
गाउँलेले बञ्चरो र चप्पल चिनेपछि प्रहरीले रामबलीलाई घरबाट तत्कालै नियन्त्रणमा लिएको थियो । वनरक्षक रामईश्वरको हत्यामा रामबली एक्लै थिए वा अन्य व्यक्तिहरु पनि संलग्न थिए भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
घटनास्थलको अवस्था हेर्दा घटना भएको दिन काठ काटेको आवाज सुनेपछि बिहान ५ बजे झिसमिसेमै जङ्गलतर्फ गएका वनरक्षक रामईश्वर र अहिले प्रहरी हिरासतमा रहेका रामबलीबिच घम्साघम्सी चलेको जस्तो देखिएको स्थानीयले बताएका छन् ।
पुस १९ गते रामईश्वरको टाउको गिँडिएको शव फेला परेको थियो भने २४ घण्टापछि भोलीपल्ट दिउँसो मात्रै टाउको फेला परेको थियो ।