logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

नेपाल–भारत सीमा संयुक्त समन्वय समिति बैठक : ७२ घण्टा बोर्डर सिल हुने


  • उज्यालो अभियान

बागमती, २४ पुस – सर्लाही, रौतहट र महोत्तरीका सुरक्षा अधिकारी तथा भारत सितामढीका सुरक्षा अधिकारीबिच संयुक्त समन्वय समिति बैठक सम्पन्न भएको छ ।

नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको आज साँझ रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न बैठकले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनअघि ७२ घण्टा सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सीमा सुरक्षा समितिको नियमित बैठक गरिएको बैठकमा सहभागी सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए ।

नेपाल वा भारत जहाँ निर्वाचन भएपनि बोर्डर सिल गर्ने परिपाटी अनुसार २ महिनापछि नेपालमा हुन लागेको प्रतिनिधि सभा चुनावका लागि सीमा नाका बन्द गर्ने विषयमा आजको बैठकले निर्णय गरेको हो । सर्लाही, महोत्तरी र रौतहटसँग जोडिएको भारत सितामढी जिल्लाका सुरक्षा अधिकारीले फागुन २१ को चुनावमा सीमा क्षेत्रमा शान्ति, सुरक्षा प्रदान गर्ने र ७२ घण्टासम्म अत्यावश्यकबाहेक आवागमन पूर्णरुपमा ठप्प पार्न सहयोग गर्ने प्रद्धिवद्धता व्यक्त गरेका छन् ।

बैठकमा सीमा अपराध, लागुऔषध नियन्त्रण, भन्सार छली नियन्त्रण, सूचना आदानप्रदानलगायत विषयमा पनि छलफल भएको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्दले बताए । सशस्त्रका एसपी चन्दका अनुसार बैठकमा सर्लाही, महोत्तरी र रौतहटका प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखहरुको उपस्थिति रहेको थियो ।

भारतको तर्फबाट सितामढी जिल्लाका प्रमुख सुरक्षा अधिकारीहरु सहभागी भएका छन् ।

नेपालका सुरक्षा अधिकारी भारतमा पुगेर र भारतका सुरक्षा अधिकारी नेपालमा आएर बेलाबेलामा यसरी बैठक गर्ने गरिएको छ ।