नवलपुर, २३ पुस – आगामी माघ १६ गतेदेखि सुरु हुने ‘प्रथम लालबन्दी मधेश प्रदेश आमन्त्रण मेयर गोल्डकप–२०८२’ मा १२ वटा टिम सहभागी हुने भएका छन् ।
आयोजक जीवेश्वर यूवा क्लबले प्रतियोगिता आयोजना स्थल लालबन्दी नगरपालिका १ स्थित नवलपुर फुटबल रंगशालामा आज पत्रकार सम्मेलन गरी सहभागी टिमबारे जानकारी गराएको हो । प्रतियोगितामा सर्लाहीबाट आयोजक जीवेश्वर यूवा क्लबसहित वीरगन्ज युनाइटेड पर्सा, रतनपुर युनाइटेड यूथ क्लब बारा, नेपाल खेलकुद क्लब रौतहट, ब्याङ्गखाडी यूवा क्लब महोत्तरी, धनुषा–११ धनुषा, गोलबजार स्पोट्र्स क्लब सिरहा र न्यू त्रियूगा स्पोट्र्स क्लब सप्तरीले सहभागिता जनाउने भएका छन् ।
त्यसैगरी मधेश प्रदेशका यि आठ टिमबाहेक गाइघाट यूवा क्लब उदयपुर, इनरुवा फुटबल क्लब सुनसरी, भरतपुर फूटबल क्लब चितवन र मकवानपुर जिल्ला फुटबल संघ हेटौंडाले प्रतियोगितामा सहभागिता जनाउने निश्चित भएको क्लबका अध्यक्ष दीपबहादुर बुढाथोकी (दीपेन्द्र) ले जानकारी बताए । उनका अनुसार प्रतियोगिताको बिजेतालाई तीन लाख र उपबिजेतालाई एक लाख ५० हजार रुपियाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ ।
हरेक खेलमा म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई दुई हजार ५०० र प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीसहित विद्यागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही पाँच हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । कूल २४ लाख ३७ हजार ३४० रुपियाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिता आयोजना गर्न लालबन्दी नगरपालिकाले सात लाख, लालबन्दी १ नं. वडा कार्यालयले पाँच लाख र लालबन्दी २ नं. वडा कार्यालयले एक लाख बजेट बिनियोजन गरेका छन् ।
यस्तै यस क्षेत्रका खेलप्रेमी व्यक्ति र सङ्घसंस्थाबाट थप आर्थिक सहयोग जुटाएर नगरभित्रै पहिलो पटक मेयर गोल्डकप आयोजना गर्न लागिएको क्लबका अध्यक्ष बुढाथोकीले बताए । पत्रकार सम्मेलनमा लालबन्दी नगरपालिका खेलकुद विकास समितिका संयोजक एवं लालबन्दी नगरपालिका १७ का वडाध्यक्ष विष्णुहरि अधिकारीले प्रतियोगिताका लागि नगरपालिकाबाट थप बजेटको व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
जिल्ला खेलकुद विकास समिति सर्लाहीका अध्यक्ष रोजित केसीले सबै मिलेर प्रतियोगितालाई भव्य र सफल बनाउनुपर्नेमा जोड दिए ।
लालबन्दी नगरपालिका १ का वडाध्यक्ष हरिबहादुर भट्टराईले वडाभित्र हुन लागेको मधेश प्रदेशकै ठुलो फुटबल प्रतियोगितालाई सफल बनाउन लागिपरिरहेको बताए ।
पत्रकार सम्मेलनमा सर्लाही जिल्ला फुटबल संघका अध्यक्ष ठाकुरबहादुर सुस्लिङ (विष्णु), उपाध्यक्ष विभुसिंह थापा, महासचिव शिवहरि गौतम, नगर खेलकुद विकास समितिका सदस्य भीमप्रसाद काफ्ले (सुवास), बागमती नगरपालिकाका पूर्व वडाध्यक्ष दीपक लामा, फुटबल प्रशिक्षक अर्जुन चौधरी, श्याम कटुवाल, रामजी पोखरेल, रामबाबु यादवलगायतको आतिथ्यता रहेको थियो । विभिन्न खेलप्रेमी, वडा कार्यालय, नगरपालिका र प्रदेश सरकारको सहयोगमा पाँच सय जना दर्शक अट्ने प्यारापिटसहितको व्यवस्थित रंगशाला निर्माण गरेसँगै जीवेश्वर यूवा क्लबले पहिलो पटक मेयर गोल्डकप आयोजना गर्न लागेको हो ।
लालबन्दी नगरपालिका कार्यालयले सञ्चालन गर्दै अइरहेको वडाध्यक्ष कप फुटबल प्रतियोगिताको आठौं संस्करण समाप्त भइसक्दा पनि सो प्रतियोगितामा राम्रो खेल खेल्ने खेलाडीले प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलहरु खेल्ने अवसर नपाएको स्थितिलाई मध्यनजर गर्दै त्यस्ता खेलाडीलाई यस प्रतियोगितामा समावेश गर्ने र बाँकी सर्लाही जिल्लाभर छरिएर रहेका उत्कृष्ट फुटबल खेलाडीलाई पहिचान गरी जिल्लाको टिम बनाउने उद्देश्य रहेको आयोजकले जनायो ।