लालबन्दी, २२ पुस – सर्लाहीसहित मधेश प्रदेशका अधिकांश स्थानमा धेरै दिनपछि आज पारिलो घाम लाग्दा चिसोबाट प्रभावित स्थानीयले राहत महसुस गरेका छन् ।
निरन्तर शीतलहर चलेर बाक्लो हुस्सु लाग्दा कठ्यांग्रिदो जाडो भई जनजीवन प्रभावित थियो । आज पनि बिहानभर बाक्लो हुस्सु लागेर ठिर्याउँदो चिसो भएकोमा मध्यान्हबाट हुस्सु हटेर पारिलो घाम लागिरहेको हो ।
धेरै दिनपछि पारिलो घाम लाग्दा स्थानीय घाम ताप्ने, नुहाइधुवाइ गर्ने जस्ता काममा ब्यस्त देखिन्छन् । चिसोले कठ्यांग्रिएका बालबालिका, ज्येष्ठ नागरिक, अशक्त र अन्य नागरिक तथा पशुपन्छीले समेत आज घाम लागेर न्यानो प्राप्त गरेका छन् ।
पुस लागेदेखिको शीतलहरले यो वर्ष आलु, तोरीलगायतका दलहन तथा तेलहन बालीमा व्यापक मात्रामा लाहीकिरासहित अन्य ठडीजन्य संक्रमण देखिएको किसानले गुनासो गरेका छन् ।

अहिले पारिलो घाम लागिरहेको माथि पोष्ट गरिएको तस्बिर भएको क्षेत्रमा बिहान यसरी हुस्सु, कुहिरो लागेर शीतलहर परेको थियो । (तस्बीर : उज्यालो अभियान)