क्रिकेट प्रतियोगिताबारे पत्रकार सम्मेलनमा बोल्दै जनज्योति क्याम्पसका स्ववियु सभापति समिर सिंह । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी, २० पुस – लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
स्ववियुको क्याम्पस समितिले आज पत्रकार सम्मेलन गरी ‘एफएसयु क्रिकेट कप–२०८२’ आयोजना गर्न लागिएको जनाएको हो । यही पुस २८ गतेदेखि लालबन्दी नगरपालिका ५ स्थित जरुवा पानी रेल्वे ट्रयाक नजिक रहेको गोल्डेन फ्यूचर एकेडेमीको क्रिकेट मैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको जनज्योति क्याम्पसको स्ववियु सभापति समिर सिंहले जानकारी दिए ।
सिंहका अनुसार क्याम्पसको केही आर्थिक सहयोग र अन्य खेलप्रेमी व्यक्तिहरुसँग चन्दा उठाएर क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको हो । क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई अध्ययनसँगै खेलकुद समेत अपरिहार्य रहेको र कतिपय विद्यार्थी इच्छुक हुँदा हुँदै पनि यस्ता अवसरबाट बन्चित भइरहेकाले स्ववियु आयोजक भएर पहिलो पटक यसरी एफएसयु क्रिकेट टुर्नामेन्ट आयोजना गर्न लागिएको स्ववियु सभापति सिंहको भनाइ छ ।
उनले यस वर्ष टेनिस बलमा खेलाइने प्रतियोगितामा अर्को वर्षदेखि ड्यूज बलमा खेल हुने छ । जनज्योति बहुमुखी क्याम्पस लालबन्दीसहित चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरी, सर्लाही क्याम्पस मलंगवा र जनज्योति बुहुमुखी क्याम्पस चन्द्रनिगापुरलाई सहभागी गराई एक हप्तासम्म क्रिकेट लिग आयोजना गर्न लागिएको हो ।
५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको क्रिकेट प्रतियोगिताको बिजेतालाई उपाधिसहित ५१ हजार र उपबिजेतालाई २५ हजार तथा प्रतियोगिताको उत्कृष्ट खेलाडी, विद्यागत खेलाडी र म्यान अफ द म्याच हुने खेलाडीलाई पुरस्कारको व्यवस्था मिलाइएको आयोजक जनज्योति स्ववियु कार्य समितिले जनाएको छ ।