नवलपुर, २० पुस – प्रथम लालबन्दी मेयर गोल्डकप फुटबल प्रतियोगिता मध्यमाघबाट सुरु हुने भएको छ ।
लालबन्दी नगरपालिका कार्यालयको सहयोगमा जीवेश्वर यूवा क्लब नवलपुरले माघ १६ गतेदेखि प्रदेशस्तरको फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो । लालबन्दी नगरपालिका–१, नवलपुरमा निर्माण गरिएको नवलपुर रङ्शालामा प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष दीपबहादुर बुढाथोकी (दीपेन्द्र) ले जानकारी दिए ।
जीवेश्वर यूवा क्लबले भर्खरै मधेश प्रदेशकै उत्कृष्ट फुटबल रङ्गशाला तयार पारेपछि प्रदेशस्तरको फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा मधेश प्रदेशका आठै जिल्लाबाट एक/एक टिम र अन्य प्रदेशबाट कम्तीमा दुईवटा टिम सहभागी गराउने गरी तयारी अघि बढाइएको जीवेश्वर यूवा क्लबका सल्लाहकार राजु राईले बताए ।
राईका अनुसार प्रतियोगिताको बिजेतालाई तीन लाख र उपबिजेतालाई एक लाख ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ । चार सातापछि हुने प्रतियोगिताको तयारी तीव्रताका साथ अघि बढाइएको आयोजक क्लबका सल्लाहकार राईले बताएका छन् ।