logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

गरगहना चोरी गर्ने गिरोहका महतोलाई महोत्तरीबाट पक्राउ गरेर ल्याइयो


  • उज्यालो अभियान

लालबन्दी, १९ पुस – लालबन्दी बजार एरियामा विगत केही महिनादेखि भएका चोरीको घटनामा संलग्न थप एक युवकलाई प्रहरीले महोत्तरीबाट पक्राउ गरेर ल्याएको छ ।

घरमा मानिस नभएको मौकामा घरको ढोकामा लगाइएको ताल्चा फोडेर चोरी गर्ने गिरोहका एक जना महोत्तरीको औरही नगरपालिका–२, बस्ने २४ वर्षीय रविन महतोलाई लालबन्दी प्रहरीले पक्राउ गरेको हो । इन्स्पेक्टर वीरेन्द्रसिंह जोहारी नेतृत्वको लालबन्दी प्रहरीले यसअघि नै यस क्षेत्रमा विशेष गरी सुनका गरगहना चोरीमा संलग्न चार जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेकै छ ।

हिरासतमा रहेका ति व्यक्तिहरुको बयानका आधारमा महतोलाई हिजो शुक्रबार इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेर लालबन्दी ल्याएको हो । प्रहरीले महतोको घरबाट सुनको झुम्का दुई थान, टप दुई थान, औँठी एक थान, छड्के तिलहरी एक थान, नेक्लेस एक थान, ल्यापटप एक थान र चोरी गर्न प्रयोग भएका फलामका विभिन्न पाँच थान औजारहरु बरामद गरेको छ ।

लालबन्दी प्रहरीले यसअघि बजार क्षेत्रका मानिसहरुको घर फाडेर सुनका गरगहना चोरी गर्ने सर्लाहीको धनकौल गाउँपालिका–६, बस्ने ३५ वर्षीया पिंकीदेवी साह र उनका नातेदार एक नाबालकलाई पक्राउ गरेको थियो । पिंकीदेवी, नाबालक र प्रहरीले महोत्तरीबाट पक्राउ गरेर ल्याएको उमेश महतोसमेत नातेदार नै हुन् ।

नाबालक, महोत्तरीबाट पक्राउ गरेर ल्याइएका महतोलगायत भएर विभिन्न व्यक्तिको घरमा प्रवेश गरी सुनका गरगहना चोरी गर्ने र पिंकीदेवीले अनुकूल मिलाएर सुनचाँदी पसलमा लगेर बिक्री गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

चोरीको गरगहना किन्ने लालबन्दी ७ स्थित आरके ज्वेलर्सका सञ्चालक लालबन्दी नगरपालिका–१०, चन्द्रपुर बस्ने ४२ वर्षीय रमेश विक र साइरा ज्वेलर्सका सञ्चालक लालबन्दी नगरपालिका–६, बस्ने ३१ वर्षीय कुमार विक पनि यसअघि देखि नै प्रहरी नियन्त्रणमै रहेका छन् ।

अनुसन्धानको क्रममा अहिलेसम्म पक्राउ परेका पाँचै जनालाई अदालतबाट म्याद लिएर लालबन्दी प्रहरीको हिरासतमा राखिएको छ ।