logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

जलेको उखु बिक्री गराइदिन सिडिओ कार्यालयको पहल


  • उज्यालो अभियान

गोडैता, १८ पुस – सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट जलेको उखु बिक्री गराइदिन जिल्ला प्रशासन कार्यालयले पहल थालेको छ ।

आज प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेलगायत रोहुवा पुगेर आगलागीबाट क्षति पुगेको उखु खेतीको निरीक्षण गर्दै बिक्रीका लागि पहल थालेका हुन् । केही साताअघि जिल्ला प्रशासन कार्यालयमा भएको सहमति अनुसार चिनी उद्योगले उखु खरिद नगरेको गुनासो आएपछि आज सिडिओ, सहायक सिडिओसहितको टोली रोहुवा पुगेको थियो ।

पूर्व सहमति अनुसार तत्काल उखु खरिद गर्न गोडैतामै रहेको महालक्ष्मी चिनी उद्योग बगहद र हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योगलाई निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । चिनी उद्योगले उखु खरिद गर्न आलटाल गरेको र कहीँकतैबाट राहत नपाएको विषयमा उखु किसानसमेत रहनुभएका गोडैताका नगरप्रमुख देवेन्द्रकुमार यादव र अन्य किसानले प्रमुख जिल्ला अधिकारीसहितको टोलीसँग गुनासो राखेका छन् ।

पछिल्लो पटक प्रहरीसहित विवरण संकलन गर्दा मंसिर २९ गते भएको आगलागीबाट गोडैता नगरपालिका–४, रोहुवा गाउँका ६३ जना किसानको २२ बिघा १७ कठ्ठा १८ धुरमा लगाइएको उखु जल्दा ९९ लाख ३६ हजार बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाका दुई चिनी मिलले उखुमा रहेको रसको मात्रा परीक्षण गरी सोही अनुसार मुल्य दिएर खरिद गर्ने सहमति यसअघि नै जनाएका छन् ।

यस्तै प्रमुख जिल्ला अधिकारी कडरिया, सहायक प्रमुख जिल्ला अधिकारी घिमिरे, नगर प्रमुख यादवलगायलते आज महालक्ष्मी चिनी उद्योग बगदहको निरीक्षण गरेका छन् । त्यसक्रममा चिनी मिलमा उखु लिएर आएका ट्याक्टर पूर्वपश्चिम हुलाकी राजमार्गमै लामवद्ध गरेर राख्दा दुर्घटनाको जोखिम बढेकाले त्यसलाई २४ घण्टाभित्र व्यवस्थापन गर्न निर्देशन दिइएको छ ।

यसैबिच, आज गोडैता पुगेका बेला प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले वडाहरुबाट जिल्ला प्रशासन कार्यालयमा हुने नागरिकतासहित अन्य सरसिफारिसलाई सहज बनाउने, लागुऔषधको कारोवार र प्रयोग नियन्त्रण गर्ने, शान्ति सुरक्षा सुदृढ गर्नेलगायत विषयमा समेत छलफल गरेको छ ।