logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा एक सातापछि घाम लाग्यो, चिसोबाट राहत


  • उज्यालो अभियान

एक हप्तापछि घाम लाग्दा लुगा धुँदै गरेका महिला । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी, १७ पुस – एक सातापछि आज पारिलो घाम लाग्दा सर्लाहीका स्थानीयले चिसोबाट राहत पाएका छन् ।

निरन्तर बाक्लो हुस्सु लागेर शीतलहर चल्दा यहाँको जनजीवन असाध्य कष्टकर बनेको थियो । आज मध्यान्हबाट भने बाक्लो हुस्सु र शीतलहर रोकिएर पारिलो घाम लाग्न थालेको हो ।

एक हप्तापछि घाम लाग्दा स्थानीय नुहाइधुवाइको काममा ब्यस्त देखिएका छन् । घाम नलागेर कपडा नसुक्दा स्थानीय हैरान थिए । चिसोले कठ्याङग्रिएका बालबालिका, वृद्धवृद्धा र अशक्त व्यक्तिहरुलाई समेत एक सातापछिको घामले न्यानो प्रदान गरेको छ ।

विपन्न तथा पिछडिएको दलित बस्तीहरुमा निरन्तरको चिसोपछि पारिलो घाम लाग्दा जनजीवन सहज बनेको छ । चिसो अत्यधिक बढेपछि जिल्लाको लालबन्दी, हरिवन, गोडैता र चन्द्रनगरमा विद्यालयसमेत बिदा दिइएको थियो । तर आजबाट घाम लाग्न सुरु भएको छ ।

घाम लाग्दा ज्याला मजदुरीमा निस्कने मजदुर र खेतबारीको काममा जानुपर्ने किसानलाई समेत सहज भएको छ ।

हुस्सु र शीतलहरका कारण भर्खरै फूलेको तोरीसहितका बालीमा लाही कीराको प्रकोप अत्यधिक देखिएको किसानले गुनासो गरेका छन् ।