logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कांग्रेस क्षेत्रीय कार्य समिति भन्छ – खाँबारे भ्रम फैलाइयो


  • उज्यालो अभियान

मलंगवा, १७ पुस – नेपाली कांग्रेस सर्लाहीको २ नं. क्षेत्रीय कार्य समितिले समानुपातिक सांसदको बन्द सूचीमा परेका मो. अनसार खाँ को बारेमा जिल्ला कार्य समितिले भ्रम फैलाएको आरोप लगाउँदै भत्र्सना गरेको छ ।

क्षेत्र नं. २ का क्षेत्रीय सभापति कौशलकिशोर राय र क्षेत्रीय सचिव रामकेवल महतोले आज विज्ञप्ती जारी गर्दै केन्द्रीय कार्य समितिले पार्टीप्रति निष्ठावान एवं प्रतिवद्ध रहेको परिवारबाट अल्पसंख्यकलाई कदर गर्दै समानुपातिक बन्दसूचीमा नाम पठाएकोमा धन्यवाद व्यक्त गरेका छन् । समानुपातिक सूचीमा पर्नुभएका खांलाई भारतमा बसेर व्यापार गर्ने, पार्टीमा कुनै योगदान नरहेको भन्ने जस्ता विषय उल्लेख गरेर पत्र सार्वजनिक गरेपछि क्षेत्रीय कार्य समितिले उहाँको नागरिकता नम्बर, पार्टीको क्रियाशील सदस्यता नम्बर नै सार्वजनिक गर्दै जिल्ला कार्य समितिले हिजो सार्वजनिक गरेको पत्रप्रति क्षेत्रीय कार्य समितिले आश्चर्य व्यक्त गरेको छ ।

यस्तै क्षेत्रीय सभापति राय र क्षेत्रीय सचिव महतोले हस्ताक्षर गरेको पत्रमा पुस ४ गते बसेको क्षेत्रीय कार्य समितिको सिफारिस बिना आफू खुसी विभिन्न क्षेत्रमा बसेर एउटै परिवारबाट बुवा राष्ट्रिय सभा, छोरा प्रतिनिधि सभा, भाउजुलाई समानुपातिकमा, भतिजोलाई प्रत्यक्षतर्फ सिफारिस गरी परिवारवाद, नातावादको नमूना प्रस्तुत गरेको अरोप लगाइएको छ ।

यसअघि हिजो समानुपातिक बन्दसूचीमा परेका खाँको विषयलाई लिएर जिल्ला कार्य समितिका कार्यवाहक सभापति डा. सरोज कुमारले हस्ताक्षर गरी सार्वजनिक गरिएको पत्रमा खाँले पार्टीमा कुनै योगदान नगरेको र २०/२५ वर्षदेखि भारतमा व्यापार गर्दै आइरहेको आरोप लगाइएको छ ।

समानुपातिक सांसदमा खाँ को नाम बन्दसूचीमा परेपछि सर्लाही कांग्रेसभित्र फेरि एक पटक संस्थापन र इतर पक्षबिचको टकराब सतहमा आएको छ ।

सर्लाही कांग्रेसले पठाएको समानुपातिकतर्फका १९ जनाको नाममध्ये भने कोही पनि बन्दसूचीमा नपरेका जिल्ला सचिव निरज कार्कीले बताएका छन् ।