logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

चिसो बढेपछि लालबन्दीमा पनि विद्यालय बन्द गरियो


  • उज्यालो अभियान

लालबन्दी ८ स्थित हालको लालबन्दी नगरपालिकाको कार्यालय ।

लालबन्दी, १६ पुस – केही दिनदेखि बढ्दै गइरहेको शीतलहर तथा अत्यधिक चिसोका कारण विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि लालबन्दी नगरपालिका कार्यालयले विद्यालय बन्द गरेको छ ।

नगरपालिका कार्यालयले आज सूचना जारी गर्दै अभिभावकको माग र शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाको पत्रसमेतलाई मध्यनजर गर्दै भोली बिहीबारदेखि नगरभित्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा जाडो बिदा दिइएको जनाएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुईटेलले हस्ताक्षर गरी जारी गरेको सूचनामा भोलीदेखि हिउँदे बिदाबाट कट्टा हुने गरी अर्को सूचना प्रकाशन नभएसम्मका लागि विद्यालयहरु बन्द गर्ने निर्णय भएको उल्लेख गरिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले शीतलहर चलेर विद्यार्थीलाई समस्या पर्न थालेको भन्दै पुस ८ गते नै सूचना जारी गरेर जिल्लाका २० वटै पालिकालाई तत्काल विद्यालय बन्द गर्न आग्रह गरेको थियो । अहिलेसम्म हरिवन नगरपालिका, लालबन्दी नगरपालिका र चन्द्रनगर गाउँपालिकाले मात्रै विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

अन्य पालिकाहरुले भने कठ्याङग्रिदो चिसो र शीतलहरका बाबजुत विद्यालयहरुमा पठनपाठन र परीक्षा सञ्चालन गरिरहेकै छन् ।