logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

आज पनि लाग्न सकेन घाम


  • उज्यालो अभियान

लालबन्दी, १६ पुस – सर्लाहीसहित मधेशका जिल्लामा विगत ५ दिनदेखि घाम नलाग्दा जनजीवन झनझन कष्टकर बन्दै गएको छ ।

यहाँ गत शनिबारदेखि रातदिन चिसो स्याँठ चलेर शीतलहर जारी रहँदा आममानिस प्रभावित बनिरहेका हुन् । बाहिरफेर निस्कँदा शीतलहरले भिज्ने गरिएको स्थानीयले बताएका छन् ।

कठ्याङग्रिदो चिसो र पानी परेको झैँ शीतलहर जारी रहँदा मानिसलाई घरबाहिर निस्कनै मुस्किल परेको हो । अत्यावश्यक काम परेर यात्रा गर्नुपर्नेहरु अझ बढी प्रभावित छन् ।

चिसो बढ्दै जाँदा मधेशका जिल्लाहरुमा धमाधम विद्यालय बन्द गर्न थालिएको छ । परीक्षा सञ्चालन गरिरहेका र दुई/चार दिनभित्रै परीक्षा सुरु गर्ने तयारीमा रहेका विद्यालयहरु भने चिसोको बाबजुत नियमित सञ्चालनमै रहेका छन् ।

कठ्याङग्रिदो चिसो र शीतलहरले गर्दा सडक, बजारमा मानिसको उपस्थिति पातलिँदो छ । चिसो छल्न मानिसहरुले घर तथा चोक, बजारमा आगो बालेर ताप्ने गरिरहेका छन् ।

दैनिक ज्याला मजदुरीमा निस्कनुपर्ने मजदुर र खेतबारीको काममा लाग्नुपर्ने किसान थप मारमा परेका छन् । निरन्तरको हुस्सु, कुहिरो र शीतलहरका कारण बालीनालीमा ठण्डीजन्य सङ्क्रमण बढेको छ ।

रातदिन शीतलहर पर्ने गरेकाले तोरी, आलु, मसुरो, चना, लहरी र तरकारी बालीमा औषधि छिट्नसमेत नपाएको किसानले गुनासो गरेका छन् । जाडोले गर्दा किसानलाई चौपाय र पन्छी सुरक्षित राख्न हम्मेहम्मे परेको छ ।

चिसोले जनजीवन प्रभावित हुन थालेपछि सर्लाहीमा विभिन्न सामाजिक सङ्घसंस्था र मनकारी व्यक्तिले विद्यार्थी तथा समुदायस्तरमा कपडा र कम्बल वितरण गरिरहेका छन् ।