मुर्तिया, १५ पुस – सर्लाहीमा बसोवास गर्ने गुरुङ समुदायले पनि मङ्गलबार हर्षोउल्लासपूर्वक तमु ल्होसार पर्व मनाएका छन् ।
जिल्लाको विभिन्न पाँच गाउँमा बसोवास गर्ने गुरुङ समुदायले बरहथवा नगरपालिका–९, मुर्तियामा रहेको गुरुङ गुम्बामा भेला भएर शुभकामना आदानप्रदान एवं सांस्कृतिक कार्यक्रम गरेर पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै तमु ल्होसार पर्व मनाएका हुन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।
गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति सर्लाहीका पूर्व अध्यक्ष विनोद गुरुङका अनुसार सर्लाहीमा मुर्तिया, हजरिया, हरिवन, बागमती र भक्तिपुरमा गुरुङ समुदायको बसोवास रहेको छ । यि पाँच गाउँमा ५६ घरधुरी गुरुङ परिवार बसोवास गर्छन् ।
यसअघि जिल्लाका विभिन्न स्थानमा उल्लेख्य सङ्ख्यामा गुरुङ समुदायको बसोवास रहे पनि बसाइसराइ र बिदेश पलायन हुनेक्रम तीव्र भएपछि अहिले पाँच गाउँमा ५६ घरधुरीको मात्रै बसोवास रहेको परिषद्का पूर्व जिल्ला अध्यक्ष गुरुङले बताए । उनका अनुसार जिल्लामा थोरै जनसङ्ख्या रहे पनि गुरुङ समुदायको भेषभुषा र पहिरनमा सजिएर परम्परा अनुसार खुसी साटासाट गर्दै नयाँ वर्ष अर्थात् तमु ल्होसार पर्व मनाइएको हो ।

गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्य समिति सर्लाहीका अध्यक्ष नरेन्द्र गुरुङको अध्यक्षता तथा मधेश प्रदेश अध्यक्ष एकबहादुर गुरुङको प्रमुख आतिथ्यतामा जिल्लाका गुरुङ समुदायले तमु ल्होसार मनाएका हुन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।
विशेषगरी गुरुङ समुदाय रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो । यसपछि तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

यस अवसरमा मङ्गलबार काठमाण्डौको टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवम् सांस्कृतिक भेषभूषामा सजिएर सहभागी हुन्छन् ।
तमु ल्होसारका अवसरमा मङ्गलबार सरकारले देशभर नै सार्वजनिक बिदा दिएको थियो ।