logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बर्खाअघि सक्नुपर्ने पुल र कलभर्टको काम फटाफट


  • उज्यालो अभियान

मनिषबहादुर बुढाथोकी/लालबन्दी, १५ पुस – पूर्वपश्चिम राजमार्ग विस्तारअन्तर्गत पुल र कलभर्ट निर्माणको काम फटाफट अघि बढाइएको छ ।

कमला–ढल्केबर–पथलैया सडक विस्तारअन्तर्गत अहिले निर्माण व्यवसायीले सर्लाही, महोत्तरी र धनुषामा पुल र कलभर्टको कामलाई तीव्रताका साथ अघि बढाएका हुन् । पुरानो पुरै भत्काएर नयाँ पुल निर्माण गर्नुपर्ने ठाउँमा वर्षायामअघि नै काम सक्नुपर्ने बाध्यता छ ।

पूर्वपश्चिम राजमार्ग एकैछिन पनि बन्द हुन नहुने सरकारको नीति रहेकाले वर्षायामको बेला काम गरिरहेर डाइभर्सनबाट नियमित सवारी साधन सञ्चालन गर्न सक्ने अवस्था नहुने भएकाले निर्माण व्यवसायीलाई वर्षाअघि अनिवार्य गर्नुपर्ने पुल र कलभर्टको काम तीव्रताका साथ अघि बढाउन भनिएको कमला–ढल्केबर–पथलैया सडक योजना (पूर्वी खण्ड) का आयोजना प्रमुख राजेशकुमार दासले बताए । उनका अनुसार यसअघि वर्षायाममा सडक माथिबाटै पानी बग्ने लच्का (कजवे) रहेको अधिकांश ठाउँमा अहिले एशियन मापदण्डअनुसार तलबाट पानी निकास हुने गरी कलभर्ट निर्माणका काम भइरहेका छन् ।

दासले सडक, पुल तथा कलभर्ट निर्माणाधीन भएकै कारण वर्षायाममा कहिँकतै सवारी आवागमन अवरुद्ध हुन नदिने गरी काम गरिने बताए । “हाइवेमा एकैछिन पनि सवारी आवागमन अवरुद्ध हुन नहुने भएकाले पुल र कलभर्टको काम त तीव्रताका साथ गर्नै पर्ने छ,” आयोजना प्रमुख दासले भने, “पूरै भत्काएर नयाँ बनाउनुपर्ने ठाउँमा वर्षायामअघि नै नयाँ पुल र कलभर्ट तयार भइसक्छन् ।”

आयोजना प्रमुख दासले अहिले रहेकै पुललाई मर्मत गरिने र दायाँबायाँ थप अर्को पुल बनाएर जोड्ने ठाउँमा भने अर्को वर्षसम्ममा मात्रै पुल तयार हुने बताए । सर्लाहीमा बेतिनी, डुमडुमे, बस्तीपुर, बासाटोल, गोडारीलगायत साना खोलामा रहेका साँघुरा पुल पुरै भत्काएर नयाँ निर्माण गरिने छ ।

बाँके, फूलजोर, कालिन्जोर, लखन्देही र चापिनी खोलाको पुल भने यथावत् रहने र दायाँबायाँ सडकको मापदण्ड अनुसार थप पुल निर्माण हुने कमला–ढल्केबर–पथलैया सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ । सर्लाहीमा पूर्वपश्चिम राजमार्गविस्तार कार्य अन्तर्गत अहिले रुख कटान गर्ने काम पनि धमाधम भइरहेको छ ।

बिजुलीको पोल सार्ने काम कतैकतै फाट्टफुट्ट भइरहँदा खानेपानीको पाइप सार्ने काम अघि बढ्नै सकेको छैन् । बिजुलीको पोल सार्नका लागि नेपाल विद्युत प्राधिकरणले सर्लाहीमा ठेक्का लगाएको ठेकेदार सम्पर्कमा नआउँदा काम रोकिएको कमला–ढल्केबर–पथलैया सडक योजना (पूर्वी खण्ड) का आयोजना प्रमुख दासले बताए ।

उनले जताततै माटो हुर्ने, ग्रेडर लगाएर सम्याउने, रुख कटान गर्ने, कलभर्ट र पुल निर्माण गर्ने जस्ता काम भइरहेको देख्दा कामले उल्लेख्य प्रगति लिएको झैँ देखिए पनि सन्तोषजनक नरहेको बताए । “आम मानिसले हेर्दा स्पिडले काम भएको जस्तो त लाग्छ तर हामी सन्तुष्ट हुने गरी काममा प्रगति भएको छैन्,” आयोजना प्रमुख दासले पन्तिकारसँगको कुराकानीमा भने “बिजुलीको पोल सार्ने, खानेपानीको पाइप हटाउनेसहितका कामले असाध्य झमेला भइरहेको छ ।”

दुई वर्षभित्र अर्थात् सन् २०२७ सम्म राजमार्ग विस्तारको काम सक्नुपर्ने भए पनि अहिलेकै गतिमा अघि बढ्दा निर्धारित मितिमै काम सम्पन्न हुने अवस्था नरहेको आयोजनाकै प्राविधिकहरुले बताउन थालेका छन् । कमला–ढल्केबर–पथलैया सडकअन्तर्गत रौतहट र बारा जिल्लामा ठेक्का लाग्न नै बाँकी छ ।

एक महिनाअघि मात्रै ठेक्काको सूचना निकालिएको थियो । कामलाई गति दिन रौतहट र बारामा बेग्लाबेग्लै कार्यालय स्थापना गरिएको सडक विभागले जनाएको छ ।

कमला पुलदेखि पथलैयासम्मको १३० किलोमिटर सडक विस्तार गरेर बजार क्षेत्रमा छ लेनसहित ३१ मिटर र अन्य ठाउँमा चार लेनसहित १८ मिटर चौडाइको बनाइने छ । धनुषाको कमला पुलदेखि सर्लाहीको बागमती पुलसम्म तीन खण्डमा ठेक्का लागेर काम भइरहेको हो ।

पूर्वपश्चिम राजमार्ग विस्तारका लागि विश्व बैङ्कले ऋण सहयोग प्रदान गरेको छ ।