हरिपुर, १४ पुस – सर्लाहीको हरिपुर नगरपालिका वडा नं. ५ र ६ का ३० जना महिलाले निःशुल्क रुपमा छ महिनासम्म सिलाइकटाइ तालिम लिने अवसर पाएका छन् ।
सेवा अहिले नेपाल (सर्भ नाउ नेपाल) नाम संस्थाले यि दुईवटा वडाका अतिविपन्न बर्गका ३० जना किशोरी र महिलालाई छनौट गरेर बिना शुल्क सिलाइकटाइ तालिम दिने भएको हो । उक्त तालिमको आज नगरप्रमुख गोपाल पजियारले उद्घाटन गरेका छन् ।
अब भोलीदेखि आगामी छ महिनासम्म ३० जना महिला तथा किशोरीलाई कपडा नै प्रयोग गराएर सिलाइकटाइ तालिम दिन सुरु गरिने सेवा अहिले नेपाल संस्थाका राष्ट्रिय निर्देशक अर्जुन ढकालले जानकारी दिए । ढकालका अनुसार तालिम सम्पन्न भएपश्चात किशोरी तथा महिलालाई संस्थाले नै निःशुल्क रुपमा सिलाइकटाइ मेसिनसमेत प्रदान गर्ने छ ।
नगरप्रमुख पजियारले संस्थाबाट यस प्रकारको सहयोग पाउँदा गरिब बर्गका महिला तथा किशोरीलाई आत्मनिर्भर बन्न र आयआर्जन गर्नसमेत टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । संस्थाले हरिपुर ५ र ६ मा विद्यालय जाने तथा विद्यालयको पहुँच बाहिर रहेका २५० जना बालबालिकालाई निःशुल्क रुपमा टिउसनसमेत पढाउँदै आएको सेवा अहिल नेपालका सर्लाही जिल्ला संयोजक अमृत चौधरीले बताए ।
विपन्न बर्गका बालबालिकाको शिक्षा तथा परिवारको जीविकोपार्जनमा टेवा पु¥र्याउँदै आएको संस्थाले आज मात्र हरिपुर ५ र ६ मा ३०० चिसो प्रभावित परिवारलाई न्यानो कपडा वितरण गरेको जिल्ला संयोजक चौधरीले बताए ।