logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कौडेना आएर लिङदेनले भने–पुराना दलहरु सुध्रिएनन्


  • उज्यालो अभियान

निरजकुमार यादव/कौडेना, ११ पुस – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले भदौ २३ र २४ गतेको घटनापछि पनि दलहरु नसुध्रिएका बताएका छन् ।

सर्लाहीको दक्षिणी ग्रामीण भेगमा रहेको कौडेना बजारमा आज दिउँसो राप्रपाको प्रथम गाउँपालिका अधिवेशनलाई सम्वोधन गर्दै उनले जेनजी बिद्रोहपछि पनि दल र नेताहरु सुध्रिने सङ्केत नदेखिएको बताएका हुन् । “यत्रो हुँदा पनि अझै हाम्रो नेतृत्व युवाहरुको भावनाअनुसार चल्न नखोज्नु दुःखद् हो,” राप्रपा अध्यक्ष लिङदेनले भने “अब पनि दल र नेताहरु नसुध्रिए देशले थप क्षति बेहार्नुपर्ने हुन्छ ।”

पूर्वउपप्रधानसमेत रहेका राप्रपा अध्यक्ष लिङदेनले आगामी निर्वाचनमा सही, साँचो नेता चुनेर मतदान गर्न आग्रह गरेका छन् । आम नागरिकले अबको निर्वाचनमा मत परिवर्तन गरेर सच्चा र सही नेता चुन्नुपर्ने उनले बताए ।

३५ वर्षदेखि नेतृत्वमा रहेका दल र नेताले नागरिकको माग, मुद्दालाई सम्वोधन नगर्दा मुलुक बर्बाद भइ नागरिकसमेत गरिबीको रेखाबाट माथि उठ्न नसकेको उनको तर्क छ । लिङदेनले मुलुक जलस्रोतमा धनी रहेको उल्लेख गर्दै यसलाई सही सदूपयोग गर्न सके युवाहरुलाई बैदेशिक रोजगारबाट रोक्ने प्रमुख आधार बन्न सक्नेमा जोड दिएका छन् ।

उनले मधेश प्रदेशमा राप्रपाको जनाधार कमजोर रहेकाले आगामी निर्वाचनमा मतदान गरिदिन कार्यक्रममा सहभागीसँग आग्रह गरेका छन् । कार्यक्रमलाई राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली, मधेश प्रदेश अध्यक्ष भरत गिरी, सर्लाही क्षेत्र नं. २ का अध्यक्ष विजयकुमार यादव, जिल्ला अध्यक्ष सत्यनारायण यादव, नेता महेन्द्र रायलगायतले सम्वोधन गरेका छन्‌ ।

अधिवेशनबाट राप्रपाको कौडेना गाउँपालिका स्तरीय समिति समेत सर्वसम्मत रुपमा चयन गरिएको कौडेना गाउँपालिकाका वडाध्यक्ष एवं पार्टीका क्षेत्रीय अध्यक्ष विजयकुमार यादवले जानकारी दिए ।