logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

आज फेरि बिहानैदेखि बाक्लो हुस्सु, तोरी र आलुमा रोगको प्रकोप


  • उज्यालो अभियान

लालबन्दी, १० पुस – सर्लाहीमा आज बिहानैदेखि अत्यधिक हुस्सु लागेर शितलहर चलिरहेको छ ।

यहाँ १०० मिटर अगाडिको दृश्यसमेत देख्न मुस्किल पर्ने गरी बाक्लो मात्रामा हुस्सु लागेर ढाकेको हो । बाक्लो हुस्सुका कारण सवारी आवागमन नै प्रभावित बनेको छ ।

ट्राफिक प्रहरीले यस्तो मौसममा सवारी साधन चलाउँदा बत्ती बालेर कम गतिमा चलाउन आग्रह गरेको छ । यहाँ गएको शुक्रबारदेखि अस्ती मंगलबारसम्म निरन्तर हुस्सु, कुहिरो लागेर शीतलहर चलेको थियो । तर हिजो भने दिउँसोपख केही घण्टा घाम लागेर मौसम उघ्रिँदा स्थानीयले न्यानो महसुस गर्न पाएका थिए ।

तर रातिबाट फेरि डम्म भएर हुस्सु, कुहिरो लाग्न सुरु भएको हो । हुस्सु कुहिरोको कारण विभिन्न ठाउँमा पुग्नुपर्ने यात्रुहरु प्रभावित भएका छन् ।

अहिले बिहान बाहिर हिँड्डुल गर्दा शीतले भिज्ने गरी हुस्सु, कुहिरो लागिरहेको स्थानीयले जानकारी दिएका छन् । यसरी एक सातादेखि हुस्सु कुहिरो लागेर मौसम प्रतिकूल बन्दा विशेष गरी तोरी र आलु बालीमा लाइ, किरालगायतको प्रकोप व्यापक हुँदा किसान निराश बनेका छन् ।

तोरीमा फूल खेल्ने र कोसा पस्ने बेला यसरी हुस्सु, कुहिरो लागेर समस्या पारेको गुनासो किसानले गरेका छन् । कठ्यांग्रिदो चिसाले बालबालिका, वृद्धवृद्धा, अशक्त र असहायक प्रभावित बनिरहेकै छन् ।

अत्यधिक जाडो हुँदा किसानलाई चौपाय र पन्छीसमेत सुरक्षित राख्न र आहार जुटाउन समस्या परिरहेको हाम्रा संवाददाताले जनाएका छन् ।