ब्रम्हपुरी, ०९ पुस – प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामुराज कडरियाले आज जिल्लाको सीमावर्ती ब्रम्हपुरी र पर्सा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीसँग अन्तरक्रिया गरेका छन् ।
उनले दुवै गाउँपालिकाको कार्यालयमै पुगेर जनप्रतिनिधि र कर्मचारीसँग अन्तरक्रिया गरेका हुन् । नागरिकलाई सहज, सरल रुपमा कसरी सेवा दिने भन्ने विषयमा सिडिओ कडरियाले दुई पालिकाका जनप्रतिनिधि, कर्मचारीसँग अन्तरक्रिया गरेका जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
ब्रम्हपुरीमा गाउँपालिका अध्यक्ष रामपदारथ साह, पर्सामा गाउँपालिका अध्यक्ष धीरेन्द्र राय विस्पदसहित उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, अन्य कर्मचारी, वडा सचिवलगायतसँग सिडिओ कडरियाले अन्तरक्रिया गरेका छन् । कार्यक्रममा शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण र सेवा प्रवाहको विषयमा अन्तरक्रिया भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई वडाबाट कागजात तथा सरसिफारिस पठाउँदा सेवाग्राहीलाई फर्किनु नपरोस् भनी के के कागजात चाहिन्छ भनी सो को लिष्ट नै वडाध्यक्ष, वडासचिवलगायतलाई प्रदान गरिएको छ ।