logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

आगलागीबाट क्षति पुगेको उखु किन्न चिनी मिल तयार


  • उज्यालो अभियान

गोडैता, ०९ पुस – हप्ता दिनअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु चिनी मिलहरुले किनिदिने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय मलंगवामा प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको अध्यक्षतामा गएसाँझ सम्पन्न बैठकमा इन्दुशङ्कर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदहले जलेको उखु तत्काल खरिद गर्ने सहमति जनाएका हुन् । आगलागी भएको उखुमा रस कति रहेको छ भनी सुरुमा ल्याब परीक्षण गर्ने र त्यसपछि खरिद गर्न दुवै चिनी मिल तयार भएका बैठकमा सहभागी गोडैत नगरपालिकाका प्रमुख देवेन्द्र यादवले जानकारी दिए ।

इन्दुशङ्कर चिनी उद्योग हरिवनका प्रशासकीय प्रमुख ठाकुर नेपालले जलेको उखुमा रिकोभरी के कति छ भनी ल्याब टेष्ट गर्ने र त्यसैका आधारमा किसानलाई कति मुल्य दिने भन्ने निधो हुने बताए । चिनी उद्योगमा बेच्ने बेला ठिक्क भएको उखु गएको सोमबार आगलागीबाट जलेपछि रोहुवाका किसान चिन्तित रहेका थिए ।

पीडित किसानले जलेको उखु बिक्री गर्ने वातावरण मिलाइदिन र राहत प्रदान गर्न हारगुहार गरिरहेका थिए । अब भने चिनी उद्योगले उखु किनिदिने भएपछि किसान खुसी भएका छन् ।

व्यवासायिक रुपमा उखु खेती हुने रोहुवा गाउँमा आगलागीबाट सुरुमा ५० बिघाको उखु जलेको आंकलन गरिएको थियो । पछिल्लो पटक गरिएको सर्वेक्षणमा २५ बिघाको हाराहारीमा उखु जलेको पाइएको र आज फेरि प्रहरीसहित थप एकिन विवरण लिएर सम्वन्धित निकायहरुमा क्षतिको विवरण पठाउने सहमति भएको मेयर यादवले बताए ।

मधेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गएको बिहीबार आगलागी भएको उखु खेतीको निरीक्षण गर्दै नेपाल सरकारले निर्धारण गरेको मुल्यमा चिनी उद्योगले खरिद गरेर बाँकी हुने रकम प्रदेश सरकारले उपलब्ध गराउने आश्वासन दिएका थिए । पीडित किसानले कृषि तथा पशुपन्छी विकास मन्त्रालयसम्म गुनासो पुर्याएपछि रोहुवामा आगलागी भएको उखु खेतीको कृषि विभागको टोलीले समेत अनुगमन गरेर हिजो मात्रै काठमाडौं फर्किएको छ ।

प्रमुख जिल्ला अधिकारी कडरियाले हरिवन र बगदहमा रहेका दुवै चिनी उद्योगका प्रतिनिधिलाई बोलाएर उखुमा रहेको रसको मात्रा अनुसार खरिद गरिदिन आग्रह गरेपछि दुवै उद्योग सकारात्मक भएका बताए । छलफलमा सुरक्षा प्रमुख, गोडैताका जनप्रतिनिधि, कर्मचारी, दुवै चिनी उद्योगका प्रतिनिधि, अगुवा उखु किसान र पीडित किसान सहभागी भएका थिए ।