बयलवास, ०८ पुस – सर्लाहीको बयलवासस्थित नगर अस्पताल ईश्वरपुरमा आजदेखि एकीकृत प्रजनन् स्वास्थ्य शिविर सुरु भएको छ ।
शिविर बिहीबारसम्म संचालन हुने छ । ईश्वरपुर नगरपालिका कार्यालयले पाठेघरको मुखको क्यान्सर जाँच, पाठेघर झर्ने, भिआइए जाँच तथा महिलामा हुने प्रजनन् रोग सम्वन्धी जाँच एवं उपचारका लागि शिविर आयोजना गरेको हो ।
शिविरमा सेवा लिन आउने महिलाको उपचारका लागि प्रादेशिक अस्पताल मलंगवाका स्त्री रोग विशेषज्ञ डा. सचिनकुमार रायसहितको टोली परिचालन भएको ईश्वरपुर नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक सुगेन्द्र महतोले बताए ।
शिविरमा परिवार नियोजन बन्ध्याकरणको सेवासमेत प्रदान गरिने छ ।
नगरपालिका कार्यालयले केही साताअघि नगरको सबैभन्दा दुर्गम क्षेत्रमा पर्ने वडा नं. १२ पिपलदमारमा आयोजना गरेको स्वास्थ्य शिविरमा सेवा लिन आएका अधिकांश महिलामा प्रजनन् रोगको समस्या देखिएको थियो ।