हरिवन, ०७ मंसिर – सर्लाहीका दुईवटा चिनी उद्योग सञ्चालनमा आएका छन् ।
पूर्वपश्चिम रजमार्गस्थित इन्दुशङ्कर चिनी उद्योग हरिवन र सीमावर्ती क्षेत्रमा रहेको महालक्ष्मी चिनी उद्योग बगदह सञ्चालनमा आएका हुन् । इन्दुशङ्कर चिनी उद्योगका उखु प्रवन्धक योगनारायण रजकले आज बिहान १० बजेदेखि मिल सञ्चालन गरी उखु क्रसिङ सुरु गरिएको जानकारी दिए ।
इन्दुशङ्कर चिनी उद्योगसँग दैनिक ३५ हजार र १५ हजार गरी ५० हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता भएको बेग्लाबेग्लै दुईवटा मिल रहेका छन् । अहिले सुरुमा ३५ हजार क्षमताको मिल चलाएर उखु क्रसिङ सुरु गरिएको उखु प्रवन्धक रजकले बताए ।
किसानले प्रशस्त उखु ल्याउन थालेपछि भने दुईवटै मिल सञ्चालन गरिने उनको भनाइ छ । इन्दुशङ्कर चिनी उद्योगले यो वर्ष चैतसम्म मिल सञ्चालन गरेर ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ ।
यस्तै महालक्ष्मी चिनी उद्योग बगदहले भने दुई दिनदेखि उखु क्रसिङ गरिरहेको जनाएको छ । उद्योगले शनिबार मध्यान्हदेखि उखु क्रसिङ सुरु गरेको उद्योगका प्रशासकीय प्रमुख शिवशङ्कर महतोले जानकारी दिए ।
दैनिक २० हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता रहेको महालक्ष्मीले यो वर्ष २० लाख क्विन्टल बढी उखु क्रसिङको लक्ष्य लिएको प्रशासकीय प्रमुख महतोले बताए । त्यस्तै जिल्लाको दक्षिणपश्चिम भेगमा रहेको अन्नपूर्ण चिनी उद्योग धनकौल भने तत्काल सञ्चालन नहुने भएको छ ।
उद्योगका सञ्चालक शैलेन्द्र गुप्ताले पुस १५ गतेतिरबाट मिल सञ्चालन गर्ने गरी तयारीमा जुटेको बताए । किसानलाई अघिल्ला वर्षहरुमा खरिद गरेको उखुको पैसा दिन बाँकी नै रहेकाले अन्नपूर्ण चिनी उद्योग सङ्कटमा रहेको छ ।
पुरानो बक्यौता रकम माग गर्दै केही साताअघि यो उद्योगविरुद्ध किसान धर्नामा बसेका थिए ।