बरहथवा, ०७ पुस – सर्लाहीका कुनै पनि क्याम्पसहरुले आज एक दिन पठनपाठन गराएनन् ।
नेपाल पब्लिक क्याम्पस संघका पूर्व जनकपुर अञ्चल अध्यक्ष नवीनप्रसाद अधिकारीको निधनमा दुःख व्यक्त गर्दै आज लालबन्दी, सुखेपोखरी, बरहथवा र मलंगवामा रहेका क्याम्पसहरुले एक दिन शोक बिदा दिएका हुन् । बरहथवा नगरपालिका ११ दियरटोल निवासी अधिकारीको गएसाँझ निधन भएको थियो ।
मुटुसम्वन्धी रोगबाट ग्रसित भई उपचारका क्रममा काठमाडौंमा निधन भएका ६० वर्षीय अधिकारीको गएराति नै पशुपति आर्यघाटमा दाहसंस्कारसमेत भइसकेको छ । नेपाली कांग्रेस सर्लाहीको उपसभापति समेत रहेका स्व. अधिकारीको पार्थिव शरीरमा कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीको तर्फबाट झण्डा ओढाएर श्रद्धान्जली व्यक्त गरेका कांग्रेसका यूवा नेता निरमुनी मैनालीले जानकारी दिए ।
शुभजनता बहुमुखी क्याम्पस बरहथवाको संस्थापक अध्यक्ष समेत रहेका अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै आज बिहान क्याम्पसमा उनको तस्बिर राखेर माल्र्यापणसमेत गरिएको क्याम्पस प्रमुख शोभीप्रसाद यादवले बताए । स्व. अधिकारी सर्लाहीको साबिक लौकठ गाविसको अध्यक्षसमेत हुन् ।
अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै कांग्रेस सर्लाहीले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने, तीन दिनसम्म जिल्लाभर श्रद्धन्जली सभा र क्रियाशील सदस्यता सम्वन्धी कार्यबाहेक अन्य गतिवधि नगर्ने र १३ औँ दिनमा शोक सभाको आयोजना गर्ने निर्णय गरेको कार्यवाहक जिल्ला सभापति सरोज कुमारले बताए । सोही निर्णय बमोजिम आज नेपाली कांग्रेसका विभिन्न पालिकास्तरीय कार्यालयहरुमा उहाँको तस्बीर राखेर माल्र्यापण गर्ने कार्य गरिएको छ ।