मलंगवा, ०४ पुस – नेपाली कांग्रेसलाई पार्टीको १५ औँ महाधिवेशन र फागुन २१ को प्रतिनिधि सभा निर्वाचन एकैपटक लागेको छ ।
सोहीक्रममा नेपाली कांग्रेस सर्लाही जिल्ला कार्य समितिको बैठक आज सदरमुकाम मलंगवामा बस्यो । बैठकले आगामी फागुन २१ को निर्वाचनका लागि क्षेत्रहरुले सिफारिस गरेर पठाएको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारका आकांक्षीहरुको नामावली हूबहु निर्णय गरेर प्रदेश कार्य समितिलाई पठाइएको कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले जानकारी दिए ।
कार्यवाहक जिल्ला सभापति डा. सरोज कुमारको अध्यक्षतामा बसेको जिल्ला कार्य समितिको बैठकले क्षेत्रबाट सिफारिस भएर आएका प्रत्यक्ष चुनाव लड्न आकांक्षा व्यक्त गरेका तथा समानुपातिकमा बस्न इच्छा व्यक्त गरेका सबैको नाम उतारेर पठाइएको जिल्ला सचिव कार्कीले बताए ।
यस्तै, पार्टीको यही पुस २६, २७ र २८ गते काठमाडौंमा हुने १५ औँ महाधिवेशन नजिकिएसँगै केन्द्रीय पदाधिकारी पदका आकांक्षी नेताहरु ध्माधम जिल्ला आउन थालेका छन् ।
नेताहरु डा. डिला संग्रौला, देवराज चालिसेलगायतले यहाँका नेताहरुसँग भेटघाट गरेर अन्य जिल्ला प्रस्थान गरेका छन् । कांग्रेसलाई अब महाधिवेशनका लागि क्रियाशील सदस्यता टुंग्याउने चटारो पनि छ ।
क्रियाशील सदस्यबारे निर्णय गर्न भोली मध्यान्ह बयलवासमा क्षेत्र नं. १ को बैठक राखिएको क्षेत्रीय सभापति हरिबहादुर लुंगेलीले बताए ।