logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

ईश्वरपुर १२ बालविवाहमुक्त र सतप्रतिसत विद्यालय भर्ना वडा घोषणा


  • उज्यालो अभियान

घारिबथान, २९ मंसिर – सर्लाहीको उत्तरपूर्वी चुरेभेगमा पर्ने ईश्वरपुर नगरपालिका वडा नं. १२ (साबिक कालिन्जोर गाविस) लाई आज बालविवाहमुक्त र सतप्रतिसत विद्यालय भर्ना वडा घोषणा गरिएको छ ।

ईश्वरपुर १२ कालिन्जोर घारिबथानमा वडाभित्र ४ वर्षदेखि ११ वर्षसम्मका ६२८ जना बालबालिकामध्ये सबै विद्यालय भर्ना भएका र कानून अनुसार २० वर्ष उमेर पुगेर विवाह गर्नेहरु ९० प्रतिसत भन्दा माथि रहेकाले एकै समारोहबिच बालविवाहमुक्त तथा सतप्रतिसत विद्यालय भर्ना वडा घोषणा गरिएको हो । वडा नं. १२ बालविवाहमुक्त हुने ईश्वरपुर नगरपालिकाको पहिलो र समग्रमा सर्लाही जिल्लाभरमा तेस्रो बन्न सफल भएको छ ।

यसअघि जिल्लाको सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–१, बहादुरपुर र गोडैता नगरपालिका–१२, मधुवनीलाई मङ्सिर २५ गते बालविवाहमुक्त वडा घोषणा गरिएको थियो । यस्तै ईश्वरपुरको वडा नंं. ४ र १३ यसअघि सतप्रतिसत विद्यार्थी भर्ना वडा घोषणा भइसकेका थिए ।

ईश्वरपुर १२ लाई वडाध्यक्ष देविबहादुर खत्री (शिव) को अध्यक्षता तथा नगरप्रमुख मनोजकुमार आचार्यको प्रमुख आतिथ्यतामा बालविवाहमुक्त र सतप्रतिसत विद्यालय भर्ना वडा घोषणा गरिएको हो । बालविवाहमुक्त र सतप्रतिसत विद्यालय भर्ना वडा बनाउन ग्रामीण नारी उत्थान संघ हरिपुरले सेभ द चिडे्रनसँगको सहयोग तथा वडा र नगरपालिका कार्यालयसँग समन्वय गरी केहीवर्ष अघिदेखि निरन्तररुपमा काम गर्दै आइरहेको थियो ।

यस वडामा हालसालै विवाहको तथ्यांक लिँदा उमेर पुगेर गरिएको विवाहको प्रतिसत ९० प्रतिसत भन्दा माथि रहेको वडा सचिव पुष्पबहादुर खड्काले जानकारी दिए । वडा सचिव खड्काका अनुसार आर्थिक वर्ष २०८१/८२ मा वडाभित्र १०९ जनाले विवाह गर्दा ८.२ प्रतिसत अर्थात् ९ ले मात्रै बालविवाह गरेको पाइएको छ ।

वडाभित्रका पुरोहित, धर्म गुरु, राजनीतिज्ञ, जनप्रतिनिधि, बाल क्लबका पदाधिकारी, महिला अगुवालगायत सम्पूर्ण सरोकारवालाले अब बालविवाह हुनै नदिने प्रतिवद्धता व्यक्त गरेका छन्‌।

यसैगरी वडाभित्र कूल १ हजार २८५ घरधुरीमा चार वर्षदेखि ११ वर्षसम्मका ६२८ जना बालबालिका रहेकामध्ये सम्पूर्ण बालबालिका विद्यालय भर्ना भएकाले सतप्रतिसत विद्यालय भर्ना वडा घोषणा गरिएको ईश्वरपुर नगरपालिकाको शिक्षा शाखाका प्रमुख दिनेश लुइँटेलले जानकारी गराए ।

बालविवाहमुक्त र सतप्रतिसत विद्यालय भर्ना वडा बनाउन आफूहरुले निरन्तर सरोकारवालालाई घच्घच्याउने, समुदायस्तरमा गएर सचेतना जगाउने, तथ्यांक संकलन गर्ने, विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना गराउनेजस्ता गतिविधि गर्दै आइरहेको ग्रामीण नारी उत्थान सङ्घकी बिन्दा लुंगेलीले बताईन् । कार्यक्रममा अभियानलाई सफल बनाउन सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई वडा कार्यालय कालिन्जोरले सम्मानसमेत गरेको छ ।

शिक्षक भिमबहादुर खड्काको संचालन तथा वडा सदस्य सुशीला पाण्डेको स्वागतमा संचालित कार्यक्रममा ईश्वरपुरका नगर उपप्रमुख रन्जितादेवी चौधरी, विभिन्न वडाका वडाध्यक्ष, नगरपालिकाको विभिन्न शाखाका प्रमुख तथा कर्मचारी, ग्रामीण नारी उत्थान संघकी अध्यक्ष गोमादेवि न्यौपाने, उपाध्यक्ष विष्णुप्रसाद चालिसे, सेभ द चिडे्रनका प्रतिनिधि, वडाका वर्तमान तथा पूर्व जनप्रतिनिधि, कांग्रेस क्षेत्र नं. १ का सभापति हरिबहादुर लुंगेली, पूर्व क्षेत्रीय सभापति प्रमोद बराल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, स्वास्थ्यकर्मी, विद्यार्थी, स्थानीयवासीलगायतको उपस्थिति रहेको थियो ।