मलंगवा, २६ मंसिर – नेपाली कांग्रेसका महासमिति सदस्य इन्जिनियर डा. राजेश्वर सिंहले सर्लाहीको क्षेत्र नं. ४ बाट भएको उम्मेदवार सिफारिसप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सिंहले आज सदरमुकाम मलंगवामा पत्रकार सम्मेलन गरी क्षेत्र नं. ४ को क्षेत्रीय कार्य समिति भेलामा आफ्नो कुरै नसुनिएको गुनासो गरेका हुन् । आफूले क्षेत्र नं. ४ बाट उम्मेदवारीका लागि निवेदन दिन खोज्दा क्षेत्रीय सभापति रामआश्रय साह, कार्यवाहक जिल्ला सभापति डा. सरोज र निवर्तमान जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहले आफ्नो कुरै नसुनेको र क्षेत्रीय कार्य समितिबाट उम्मेदवारको सिफारिस गर्दा छलफाम र अन्यायपूर्ण किसिमले गरिएको बताए ।
उनले पार्टीको केन्द्रीय कार्य समितिले प्रदेश तथा पालिकास्तरमा रहेका जनप्रतिनिधिको नाम सिफारिस नगर्न दुई पटक परिपत्र गरे पनि प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहको नाम सिफारिस गरिएकाले यो अवैधानिक रहेको बताए ।
बरहथवा नगरपालिका ४ हजरिया निवासी महासमिति सदस्य सिंहले आफू यो कुरा लिएर प्रदेश कार्य समिति र केन्द्रीय समितिमा समेत निवेदन लिएर जाने पत्रकार सम्मेलनमा बताए ।