वुद्धबहादुर विश्वकर्मा/हरिपुर २५ मंसिर – टिएसपी फुटबल क्लब धनुषा, प्रथम हरिपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
हरिपुर नगरपालिका २ स्थित सानो जगतपुर खेल मैदानमा सम्पन्न प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा आज ब्रदर्श यूथ क्लब दुधौली सिन्धुलीमाथि ५–१ को सहज जित निकाल्दै धनुषाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । आजको खेलमा टिमका लागि २ गोल गर्न सफल धनुषाका असिम भुजेल म्यान अफ द म्याच बन्दै नगद १ हजार ५०० रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
धनुषाले अब प्रतियोगिताको फाइनल प्रवेशका लागि मंसिर २७ गते पहिलो सेमिफाइनलमा एभरेष्ट फूटबल एकेडेमी लालबन्दीसँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगितामा भोली दोस्रो क्वाटरफाइनल खेल आयोजक नव संघर्षशील यूवा क्लब हरिपुर र चिडियादह स्टार चन्द्रनिगाहपुरबिच हुने छ ।
भोलीको खेलको बिजेताले फाइनल प्रवेशका लागि दोस्रो सेमिफाइनलमा मंसिर २८ गते वीरगन्ज युनाइटेड पर्साको सामना गर्नुपर्ने छ ।
प्रतियोगिताको फाइनल खेल भने पुस १ गते हुने छ ।
हरिपुर नगरपालिका र हरिपुर २ नं. वडा कार्यालयको आर्थिक सहयोगमा आयोजित प्रतियोगिताको बिजेताले १ लाख ५० हजार र उपबिजेताले ७५ हजार प्राप्त गर्ने छन् ।