हरिपुर, २३ मंसिर – टिएसपी फुटबल क्लब धनुषाले आज प्रथम हरिपुर गोल्डकप फुटबल प्रतियोगिता–२०८२ मा हरिपुर यूवा समूहलाई सहजै पराजित गरेको छ ।
धनुषाले हरिपुरमाथि ६–० को एकतर्फी जित निकालेको हो । छिमेकी जिल्लाको टिमसँग स्थानीय टिम हरिपुर यूवा समूह लज्जास्पद हार बेहोर्न बाध्य भयो ।
आजको खेलमा धनुषालाई जिताउन २ गोल गरेका सुदीप मगर म्यान अफ द म्याच बनेका छन् । उनलाई हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापाले म्यान अफ द म्याचको पुरस्कार राशी नगद एक हजार ५०० रुपैयाँ प्रदान गरेका छन् ।
प्रतियोगितामा भोली बुधबार मोफसलको चर्चित र पुरानो क्लब वीरगन्ज युनाइटेड पर्सा र कटारी टाइगर फुटबल क्लब उदयपुरले प्रतिस्पर्धा गर्ने आयोजक नव संघर्षशील युवा क्लबका अध्यक्ष अमृत घिसिङले जानकारी दिए । मोफसलका दुई चर्चित क्लबबिच भोली हुने यो खेल रोमान्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
हरिपुर नगरपालिका र हरिपुर २ नं. वडा कार्यालयको सहयोगमा आयोजित प्रतियोगिताको बिजेतालाई ट्रफीसहित एक लाख ५० हजार र उपबिजेतालाई ७५ हजार रुपैयाँ प्रदान गरिने छ ।
फाइनल खेल आगामी पुस १ गते हुने छ ।