logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

उखुको मुल्य अझै नतोकिँदा किसान र उद्योगी अन्यौलमा


  • उज्यालो अभियान

हरिवन, १८ मंसिर – सरकारले उखुको समर्थन मुल्य तोक्न ढिलाई गर्दा किसान निराश बनेका छन् ।

मुल्य निर्धारण नहुँदा किसानले उखु काट्न पाएका छैनन् । चिनी मिल संचालन गर्न ढिलाई भएको छ । सर्लाहीस्थित इन्दुशंकर चिनी उद्योगले मिल सञ्चालन गर्नुअघि गरिने डोंगा पूजा गरे पनि मिल संचालनबारे भने अन्यौलता देखिएको छ ।

खेतको उखु काट्ने सुरसारमा रहेका किसान र मिल चलाएर उखु क्रसिङ सुरु गर्ने तयारीमा रहेका उद्योगी समर्थन मुल्य कुरेर बसेका छन् । सर्लाहीको बरहथवा नगरपालिका–३, हजरियाका नन्दु चौरसियाले उखुको मुल्य निर्धारण नहुँदा अन्यौलमा परिरहेको बताए ।

सरकारले मुल्य निर्धारण गर्नासाथ उखु काट्ने तयारीमा बसेको चौरसियाले जानकारी दिए । ४ बिघा खेतमा उखु लगाएका चौरसियाले यस वर्ष चित्त बुझ्दो मुल्य कायम नभए अर्को वर्षदेखि उखु खेती नै छाड्ने सोच बनाएको गुनासो गरेका छन् ।

लागत अनुसार उखुको मुल्य निर्धारण हुन नसकेको गुनासो किसानले गर्दै आइरहेका छन् । उखु किसानको छाता सङ्गठन नेपाल उखु उत्पादक महासंघले चालु क्रसिङ सिजन २०८२/८३ मा उखुको समर्थन मुल्य प्रतिक्विन्टल ७५० रुपियाँ कायम गर्न माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाइसकेको छ ।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष श्यामबाबु रायले कृषि मन्त्री, कृषि सचिवले उखुको मुल्य निर्धारण गर्न मङ्सिर २९ गतेसम्मको समय माग गरेको जानकारी दिए ।

यो हिसाबले पुस लागेपछि मात्रै चिनी मिल संचालन हुने अवस्था रहेको छ ।