निरजकुमार यादव/कौडेना, १५ मंसिर – सर्लाहीको कौडेना गाउँपालिका–१ सुन्दरपुर बजार सुखचैनामा रहेको देवधारी माध्यमिक विद्यालयमा आज ८ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ ।
नवनिर्मित विद्यालय भवनको मधेश प्रदेशसभा सदस्य एवं प्रदेश सरकारका निवर्तमान श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोज राउतको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष रुपेश कुमार (बब्लु), प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्का, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द, सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशप्रसाद दास लगायतको आतिथ्यता रहेको थियो ।

संघीय सरकारको ३५ लाख र गाउँपालिकाको ३७ लाख गरी ७२ लाख रुपैयाँ लागतमा विद्यालय भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत दासले उज्यालो अभियानसँग बताएका छन् ।

विद्यालयको सुविधा सम्पन्न ८ कोठे भवन निर्माण भएसँगै विद्यार्थीलाई सजिलोसँग बसाएर पठनपाठन गर्न सहज भएको विद्यालयले जनाएको छ । विद्यालयको भवन उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, शिक्षाप्रेमी, विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी र विभिन्न संघसंस्थाकाप्रतिनिधिको उपस्थिति रहेको थियो ।