logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

महादेव जनतालाई श्री सत्य साइ युनिटी क्रिकेटको उपाधि


  • उज्यालो अभियान

हरिवन, १५ मंसिर – साई युवा क्लब हरिवन–४, पटौनाको आयोजनामा भएको श्री सत्य साइ युनिटी क्रिकेट प्रतियोगिता २०८२ को उपाधि महादेव जनता माध्यमिक विद्यालयले जितेको छ ।

पटौना खेल मैदानमा सम्पन्न प्रतियोगितामा महादेव जनता माविले नवयुवा क्लब ईश्वरपुरलाई ९ विकेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो । नवा युवा क्लबले पहिले ब्याटिङ गर्दै ७१ रनको सामान्य लक्ष्य दिएको थियो ।

महादेव जनता माविले ५.१ ओभरमै एक विकेट गुमाएर लक्ष्य भेटाउँदै शानदार जित हात पार्यो । खेल समापन तथा पुरस्कार वितरण समारोह साई युवा क्लबका अध्यक्ष श्याम लामाको अध्यक्षतामा र हरिवन–४ का वडाध्यक्ष केशवराज थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । समारोहमा कृषि सहकारी अध्यक्ष तिलक खड्का, गणेश मन्दिर संरक्षण समितिका अध्यक्ष केदार बस्नेत लगायतको पनि उपस्थिति रहेको थियो ।

विजेता महादेव जनता माविलाई नगद ३० हजार रुपैयाँ सहित प्रतियोगिताको ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । उपविजेता नवयुवा क्लबले २० हजार रुपैयाँमा चित्त बुझायो ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट प्रदर्शन गर्दै अनिल यादव ले बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, र म्यान अफ द सिरिज गरी तीनै पुरस्कार हात पारेका छन् ।