logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

एमाले सर्लाहीले ११ औँ महाधिवेशनका प्रतिनिधिको नाम आज घोषणा गर्ने


  • उज्यालो अभियान

मलंगवा, १४ मंसिर – नेकपा एमाले सर्लाहीले ११ औँ महाधिवेशनका लागि चुनिने प्रतिनिधिको नाम आज घोषणा गर्ने भएको छ ।

मंसिर २७, २८ र २९ गते काठमाडौैंमा हुने महाधिवेशनमा मतदानको अधिकारसहित भाग लिन जाने प्रतिनिधि छनौटमा सकस परेपछि जिल्ला इन्चार्जसहित ५ जनालाई नाम छनौट गर्ने जिम्मेवारी दिइएको थियो । आम कार्यकर्ताले नै निर्वाचन नगर्ने, बरु जिल्लाको ‘हाइ कमाण्ड’ले नामावली तयार पारेर घोषणा गर्ने सहमती जनाए अनुसार आज २१ जनाको नाम घोषणा हुने एमाले सर्लाहीका उपाध्यक्ष विदुरकुमार प्याकुरेलले जानकारी दिए । उनका अनुसार सर्लाहीबाट महाधिवेशनमा भाग लिने २१ जना प्रतिनिधिको नाम छनौट गर्न जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य हरिप्रसाद उप्रेतीको नेतृत्वमा केन्द्रीय सदस्यहरु कमलादेवी महतो, रन्जना सरकार, कल्पनाकुमारी कटुवाल र जिल्ला अध्यक्ष राजनारायण साह रहेको ५ सदस्यीय कार्यदल गठन भएको छ ।

यही कार्यदलले आज दिउँसोसम्ममा २१ जना महाधिवेशन प्रतिनिधिको नाम घोषणा गर्ने भएको हो । ११ औँ महाधिवेशनमा भाग लिनका लागि प्रतिनिधि बन्न मंसिर ११ गते जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता भएको थियो । जसमा ७४ जनाले उम्मेदवारी दिएका र त्यसमध्येबाट अब २१ जना छनौट गर्नुपर्ने अवस्था आएको हो ।

स्रोतका अनुसार केन्द्रीय अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आकांक्षी रहेकाले आफू निकटका नेताहरुलाई प्रतिनिधि बनाउन दुवै पक्ष लागिपरेको छ । सर्लाहीमा पोखरेल पक्षको तुलनामा ओली पक्ष बलियो देखिन्छ ।

महाधिवेशन प्रतिनिधि छनौट गर्न मंसिर ११ गते क्षेत्र नं. १ को लालबन्दी, २ को मलंगवा, ३ को बरहथवा र ४ को बसबरियामा मनोनयन दर्ता कार्य सम्पन्न भएको थियो ।