हरिवन, १४ मंसिर – नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि सर्लाहीमा २२ जना प्रतिनिधिको नाम घोषणा गरिएको छ ।
यही मङ्सिर २७, २८ र २९ गते पार्टीको केन्द्रीय कमिटी चयनसहितको ११ औँ महाधिवेशन काठमाडौंमा हुँदै छ । त्यसका लागि सर्लाहीबाट मत खसाल्ने अधिकारसहित महाधिवेशनमा भाग लिने २२ जना प्रतिनिधिको नामावली आज घोषणा गरिएको हो ।
जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि छनौटका लागि मनोनयन दर्ता भएको थियो । जसमा प्रतिनिधि बन्न ७४ जनाले उम्मेदवारी दिएका थिए । तर महाधिवेशन प्रतिनिधि छनौटका लागि मतदान नगरी महाधिवेशन प्रतिनिधि छनौट समितिले सर्वसहमती भन्दै आज २२ जनाको नाम घोषणा गरेको हो ।
जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य हरिप्रसाद उप्रेती, केन्द्रीय सदस्यहरु कल्पनाकुमारी कटुवाल, कमलादेवी महतो, रन्जना सरकार र जिल्ला अध्यक्ष राजनारायण साह सम्मेलित महाधिवेशन प्रतिनिधि छनौट समितिले २२ जना प्रतिनिधिको नाम घोषणा गरेको हो । उक्त छनौट समितिले क्षेत्र नं. १ मा खुला तर्फबाट मनोजकुमार देवकोटा, प्रकाश थापा, माधव सरकार, महिला क्लष्टरबाट एकावती देवी चौधरी, शान्तिकुमारी लामा र युवा क्लष्टरबाट उज्वलकुमार कार्कीलाई महाधिवेशन प्रतिनिधिको रुपमा चयन गरेको छ ।
महाधिवेशन प्रतिनिधिमा छानिएका माधव सरकार महाधिवेशन प्रतिनिधि छनौट समितिका सदस्य एवं केन्द्रीय सदस्य रन्जना सरकारको दाई हुन् । क्षेत्र नं. १ मा महाधिवेशन प्रतिनिधिको प्रमुख आकांक्षी रहेका मानबहादुर खड्का, प्रकाश पाख्रिन, गोविन्द अधिकारी, गोविन्द महत, नवराज मिश्र, सुशील थपलिया, प्रभुनारायण शिवाकोटीलगायतका नेताहरु छुटेका छन् । नेता मिश्रले त सामाजिक सन्जाल फेसबुकमार्फत लोकतान्त्रिक विधि अर्थात् मतदानको व्यवस्थालाई नै मासेर सर्वसम्मतिको मन्चन गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

यस्तै क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिको रुपमा खुलातर्फ जिल्ला अध्यक्ष राजनारायण साह, जयप्रकाश यादव, महिला क्लष्टरबाट राधिका खतिवडा, रेणु पासवान र युवा क्लष्टरबाट रौनित साहको नाम घोषणा गरिएको छ । क्षेत्र नं. २ मा महाधिवेशन प्रतिनिधिमा छनौटमा परेका रौनित साह जिल्ला अध्यक्ष एवं महाधिवेशन प्रतिनिधिमा रहेका राजनारायण साहको छोरा हुन् । यस क्षेत्रमा अनेरास्ववियुको केन्द्रीय सचिव एवं प्रवक्ता रहेका समिमबाबु खानसमेत महाधिवेशन प्रतिनिधि बन्नबाट बन्चित हुन पुगेका छन् ।
यस्तै क्षेत्र नं. ३ मा महाधिवेशन प्रतिनिधिको रुपमा खुलाबाट विदुरकुमार प्याकुरेल, गणेशप्रसाद प्रसाई, रेवतीरमण पन्त, महिलाबाट सरिता घिसिङ, शारदाकुमारी उप्रेती र युवा क्लष्टरबाट मोहनबहादुर रेग्मी चयन भएका छन् । क्षेत्र नं. ३ मा महाधिवेशन प्रतिनिधि बन्न उम्मेदवारी दिएका डिल्लीप्रसाद उप्रेती, चुडामणि वाग्ले, सरस्वती सुब्बा, पार्वती विश्वकर्मा, युवा क्लष्टरका प्रज्वल ढुङ्गानालगायतका नेताहरु छुटेका छन् ।
युवा क्लष्टरबाट महाधिवेशन प्रतिनिधि बन्न उम्मेदवारी दिएका प्रज्वल ढुङ्गानाले महाधिवेशन प्रतिनिधि छनौट समितिको निर्णयप्रति असन्तुष्टि जनाउँदै क्षेत्र नं. ३ मा उम्मेदवारी दिएका २५ जनामध्ये १९ जनाको मन दुखाउने काम भएको गुनासो गरेका छन् ।

यस्तै एमाले सर्लाहीको क्षेत्र नं. ४ बाट ११ औँ महाधिवेशनका लागि छनौट समितिले सार्वजनिक गरेको नाममा खुलातर्फ माधवप्रसाद कोइराला, जयलाल सहनी, महिला क्लष्टरमा लालवती देवी राय र युवा क्लष्टरमा रविशङ्कर सिंह कुशवाहा रहेका छन् । जिल्लाको दलित क्लष्टरतर्फ एक जनामध्ये रामचन्द्र कापर छनौटमा परेका छन् ।
एमाले सर्लाहीले छनौट गरेको २२ जना महाधिवेशन प्रतिनिधिमध्ये एक/दुई जनाबाहेक अधिकांश अध्यक्ष केपी शर्मा ओली निकटका हुन् । पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११ औँ महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन् ।
सर्लाहीमा प्रतिनिधिका लागि आकांक्षी धेरै हुँदा हुँदै मतदानबिनै घोषणा गरिएका २२ महाधिवेशन प्रतिनिधिमध्ये पोखरेल निकटका नेता एक/दुई जना मात्रै रहेका छन् ।