logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

२३३ जनाको आँखा परीक्षण, ३१ जनामा मोतीविन्दु


  • उज्यालो अभियान

फाइल तस्बिर ।

घुर्कौली, १३ मंसिर – सर्लाहीको हरिवन नगरपालिका–६, घुर्कौलीमा आयोजित निःशुल्क आँखा शिविरमा २३३ जनाले लाभ लिएका छन् ।

श्रीकृष्ण प्रणामी समाजले स्वास्थ्य चौकी घुर्कौली परिसरमा आयोजना गरेको निःशुल्क आँखा परीक्षण शिविरमा २३३ जनाको आँखा जाँच गरिएको हो । जसमध्ये ३१ जनामा मोतीविन्दुको समस्या देखिएको श्रीकृष्ण प्रणामी समाज घुर्कौली प्रारम्भिक समितिका अध्यक्ष एवं हरिवन ६ का वडा सदस्य अजयकुमार महतोले जानकारी दिए ।

उनका अनुसार मोतीविन्दुका बिरामीलाई सामुदायिक आँखा अस्पताल हेटौंडा लगेर निःशुल्क मोतीविन्दुको शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको छ । जाडोयाममा आँखामा स्वास्थ्य समस्या बढ्ने भएकाले सेवाको भावनासहित निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरिएको श्रीकृष्ण प्रणामी समाजले जनाएको छ ।

समाजले अब जाडो महिनामा चिसो प्रभावित मानिसलाई न्यानो कपडा वितरणको तयारी गरिरहेको महतोले बताए ।