logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

‘सबै लागौँ, डेंगी नियन्त्रण गर्न सकिन्छ’


  • उज्यालो अभियान

लालबन्दी, ११ मंसिर – डेङ्गी रोग नियन्त्रणका लागि सबै पक्षले समन्वय र सतर्कता अपनाउन जरुरी रहेको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् ।

लालबन्दी नगरपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई शाखाले आज लालबन्दी ९ डुमडुमेस्थित नगर अस्पताल लालबन्दीमा आयोजना गरेको डेङ्गी रोग नियन्त्रण तथा रोकथाम सम्वन्धी सरोकारवालाको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले सबैको सहभागिताले मात्रै डेङ्गी रोग नियन्त्रणमा सहयोग पुग्ने बताएका हुन् ।

नगर अस्पताल लालबन्दीमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डा. अभिनेषकुमार झाले अनुसार ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस्‌’ नामक लामखुट्टेको टोकाइबाट डेङ्गी रोग लाग्ने बताए । डेङ्गीबाट जोगिने एक मात्रै विकल्प लामखुट्टेको टोकाइबाट जोगिनु नै रहेको डा. झाले बताए ।

लामखुट्टेको टोकाइबाट जोगिन बाहुला भएको लुगा लगाउन, घर वरपर नियमित सरसफाई गर्न, गमला, थोत्रा टायर र खाल्डाखुल्डीमा पानी जम्न नदिन र सुत्ने बेला झुलको प्रयोग गर्न डा. झाको आग्रह छ ।

नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीका अनुसार डेङ्गी लागेपछि उच्च ज्वरो आउने, टाउको दुख्ने, थकान महसुस हुने, शरीरका मांशपेशी दुख्ने, वान्ता हुने, पखाला लाग्नेलगायतका लक्षण देखा पर्छन् । डेङ्गी ज्वरोमा पारासिटामोल र जीवनजलबाहेक अन्य कुनै औषधि प्रयोग गर्न मिल्ने अवस्था नहुने र डेङ्गीकै लागि भनेर औषधिसमेत नरहेकाले सावधानी अपनाउनु नै उत्तम हुने डा. चौधरीको भनाइ छ ।

लालबन्दी नगरपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई शाखाका जनस्वास्थ्य निरीक्षक रोशन चौधरीले सर्वसाधारणसहित सबैले सचेतना अपनाउने र समन्वय गरेर अभियान सञ्चालन गर्दा मात्रै डेङ्गी नियन्त्रण हुन सक्ने बताए । चौधरीका अनुसार चालू आर्थिक वर्षमा लालबन्दी नगरपालिकाभित्र १९ जनामा डेङ्गी सङ्क्रमण पुष्टी भएको छ ।

विशेष गरी वर्षायाममा डेङ्गी गराउने लामखुट्टे सक्रिय हुने गरेको भएपनि अन्य समयमा पनि सावधानी अपनाइराख्नु पर्ने चिकित्सकको भनाइ छ । नगरपालिकाको आधारभूत स्वास्थ्य तथा सरसफाई शाखाका सुरेन्द्र खतिवडाले नगर क्षेत्रमा घना बस्ती रहेकाले डेङ्गी नियन्त्रणमा चूनौति हुँदै आएको बताए ।

नगरपालिकाको स्वास्थ्य शाखाले वर्षेनि लामखुट्टेको बासस्थान नष्ट गर्न ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान चलाउने गरेको छ । लालबन्दी नगरपालिकाकी उपप्रमुख कल्पनामाया पाख्रिनले आफूसँग स्थानीय नागरिकताले लामखुट्टे धेरै लाग्न थालेको भन्दै झुल वितरण गर्न र औषधि छिट्न माग गर्ने गरेको बताईन्।

लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले नाला निर्माण गरेर खुला छाडिदिँदा त्यहाँ लामखुट्टे बसेर डेङ्गी फैलाउन सहयोग पुगेको आफूले महसुस गरेको कार्यक्रममा बताए । हिजोआज डेङ्गीसहित नयाँनयाँ प्रकारका रोग देखा परिरहेका भन्दै नगरप्रमुख अधिकारीले यसलाई नियन्त्रण गर्न सबै पक्ष मिलेर अघि बढ्नुपर्ने तर्क गरे ।

अन्तरक्रियामा लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, विभिन्न वडाका वडाध्यक्ष, नगर अस्पतालका स्त्री तथा पसूति रोग विशेषज्ञ डा. रामविश्वास राय दनुवार, अन्य स्वास्थ्यकर्मी, उद्योग वाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष महेश महतो, प्रहरी, लायन्स क्लबका पदाधिकारी र संचारकर्मीको उपस्थिति रहेको थियो ।