अनिता देवकोटा/लालबन्दी, ०७ मंसिर – धेरै उत्पादन हुने समयमा बिक्री नभएर बारीमै कुहिने गोलभेँडा र काउलीले अहिले भने राम्रो मुल्य पाउँदा सर्लाहीका किसान खुसी भएका छन् ।
प्रशस्त गोलभेँडा उत्पादन हुने जिल्लाको रुपमा सर्लाही देशभरमा प्रख्यात छ । यहाँ हिजोआज स्थानीय जातको गोलभेँडा भर्खरै उत्पादन हुन थालेको छ ।
थोरै परिमाणमा उत्पादन भइरहेकाले किसानले गोलभेँडाको मुल्य एक क्रेटको दुई हजार अर्थात् प्रतिकेजी ८० रुपियाँसम्म पाइरहेका छन् । जबकी यही गोलभेँडा अत्यधिक जाडो हुने र उत्पादन पनि धेरै हुने पुस÷माघमा प्रतिकेजी पाँच रुपियाँमा बिक्री गर्न पनि हम्मेहम्मे पर्छ । थोकमा ८० रुपियाँ केजीमा बिक्री भइरहेको गोलभेँडा खुद्रा बजारमा उपभोक्ताले भने प्रतिकेजी १२० रुपियाँसम्म खरिद गरेर उपभोग गर्न बाध्य छन् ।
लालबन्दी नगरपालिका–८, तीन नम्बर टोलका सोमबहादुर मिक्चनले यो समयमा गोलभेँडा फलाउँदा मनग्य आम्दानी हुने बताए । यो वर्ष मध्य असोज र त्यसपछि मध्य कात्तिकमा भएको भारी वर्षाले गोलभेँडा निकाल्नै समस्या परेको किसानले गुनासो गरेका छन् ।
पानीबाट गोलभेँडा जोगाउन सफल भएका किसानले भने राम्रो मुल्य पाएका छन् । हरिवन नगरपालिका–३, सासापुरका श्यामसुन्दर महतोले अहिले थोरै किसानले मात्रै गोलभेँडा फलाउन सकेकाले राम्रो भाऊ पाइरहेको बताए ।
किसानले थोरै परिमाणमा बिक्री गर्न ल्याउने गोलभेँडा खरिद गर्न लालबन्दी थोक तरकारी बजारका व्यापारीबिच हानाथाप नै पर्ने गरेको छ । लालबन्दी कृषि थोक तरकारी बजारका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले स्थानीय स्तरमा कम उत्पादन भइरहेकाले बाहिरी जिल्लाबाट समेत गोलभेँडा आयात भइरहेको जानकारी दिए ।
यस्तै गत वर्ष प्रतिकेजी दुई/तीन रुपियाँमा बिक्री भएको काउली अहिले प्रतिकेजी १२० रुपियाँसम्ममा बिक्री भइरहेको छ । सुरुमा थोरै किसानले मात्रै काउली उत्पादन गरेकाले काउलीको मुल्य पनि आकाशिएको हो । थोकमा १२० रुपियाँ प्रतिकेजी रहेको काउली खुद्रामा भने प्रतिकेजी १५० रुपियाँमा बिक्री भइरहेको पाइन्छ ।
सर्लाहीमा उत्तरी भेगको ईश्वरपुर, लालबन्दी र हरिवन नगरपालिकामा गोलभेँडा तथा चन्द्रनगर, ब्रह्मपुरी, कविलासी, बरहथवा, चक्रघट्टालगायत क्षेत्रमा काउलीको व्यावसायिक खेती हुने गरेको छ । जिल्लाका हाटबजारमा अहिले अन्य हरियो तरकारीसमेत असाध्य महँगो भएका छन् ।
यहाँको थोक बजारमै सिमी प्रतिकेजी १४०, बोडी प्रतिकेजी १५०, भिन्डी प्रतिकेजी ९०, भान्टा प्रतिकेजी ८० रुपियाँमा बिक्री भइरहेको छ । खुद्रा बजारमा अझ बढी मुल्य पर्छ ।
तरकारीको मुल्य राम्रो पाउँदा किसान खुसी भए पनि उपभोक्ता भने मारमा परेका छन् ।