लालबन्दी, ०७ मंसिर – नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले अब नेता, कार्यकर्तालाई पुरानो पार्टीको नाम बिर्सन आग्रह गरेका छन् ।
लालबन्दीमा आज आयोजित पार्टीको सर्लाही जिल्लास्तरीय कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै उनले माओवादी, एकीकृत समाजवादी जस्ता पुराना नामलाई बिर्सिएर अब एकीकरण भएको नेपाली कम्युनिष्ट पार्टीलाई अघि बढाउन लागि पर्न आग्रह गरेका हुन् । समाजवाद, न्याय र सम्मानको व्यवस्था गर्न पार्टी एकीकरण गरिएको उनको भनाइ छ ।
विभिन्न ११ राजनीतिक घटक मिलेर नेकपा गठन भएपछि सर्लाहीमा आज पहिलो पटक यसरी औपचारिक कार्यक्रम सम्पन्न गरिएको हो । पार्टीका केन्द्रीय सह–संयोजक नेपालले मंसिर २० गते प्रदेश राजधानी जनकपुरमा आयोजना गरिएको बृहत सन्देश सभालाई सफल बनाउने काममा लागि पर्न नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।
जनताको चाहना पुरा गर्नकै लागि पार्टी एकीकरण गरेर नेपाली कम्युनिष्ट पार्टी बनाइएको सह–संयोजक नेपालको भनाइ छ । उनले पार्टीका नेता कार्यकर्तालाई जनतामाझ गएर उनीहरुको समस्या सुन्ने र समाधान गर्ने काममा लाग्नसमेत निर्देशन दिए ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले नवजवान, युवा र महिलालाई अझ अघि बढाउन जरुरी औँल्याएका छन् ।